तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

एजेन्सी । इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
इरानी विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गरेको छ । मन्त्रालयले अमेरिकाका पछिल्ला आक्रमण, इरानी तेल बिक्रीसम्बन्धी अनुमति खारेज गर्ने अमेरिकी निर्णय, होर्मुज जलसन्धिमा इरानी गतिविधिमाथिको अवरोध तथा लेबनानविरुद्ध इजरायली कारबाहीले समझदारीपत्रका महत्वपूर्ण पक्षलाई प्रभावित बनाएको जनाएको छ ।
विज्ञप्तिमा इरानी सशस्त्र बलले अमेरिकी ‘सैन्य आक्रामकता’ को स्रोत र उद्गमस्थललाई लक्षित गर्न पछि नहट्ने चेतावनी दिइएको छ । मङ्गलबार रातिदेखि बुधबारसम्म अमेरिका र इरानबीच पुनःतनाव बढेको छ । इरानले होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथि गरेको भनिएको आक्रमणको जवाफमा अमेरिकाले इरानका करिब ८० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
त्यसपछि इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था आइआरआइबीका अनुसार, बन्दर–ए–महशहर बन्दरगाह क्षेत्रमा भएको अमेरिकी आक्रमणमा एक आइआरजीसी सदस्यको मृत्यु भएको छ ।
यसैबीच, नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अङ्कारा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबिराम अवस्था अन्त्य भएको बताएका छन् । उनले अमेरिकाले आज राति इरानमाथि पुनः कडा आक्रमण गर्न सक्ने संकेत गर्दै होर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तथा खर्ग टापुमाथि नियन्त्रण कायम गर्ने सम्भावना पनि उल्लेख गरे ।








