मन्त्री चौधरीको निर्देशनमा प्रदूषण परीक्षणः ३८ मध्ये २० सवारी कारबाहीमा (तस्बिरसहित)

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार काठमाडौंमा सवारीसाधनको प्रदूषण परीक्षण गरेका छन् ।

प्रदूषण परीक्षणका क्रममा ३८ वटा सवारीसाधन जाँच गर्दा २० वटा अर्थात् ५२.६४ प्रतिशत सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको वातावरण विभागले जनाएको छ । वातावरण विभागका उपनिर्देशक सरोजकुमार चौधरीका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा मापदण्ड पूरा नगर्ने सवारीसाधनमाथि तत्काल कानूनी प्रक्रिया अघि बढाइएको हो ।

‘बबरमहलस्थित सडक विभाग अगाडि ३८ वटा सवारीसाधनको प्रदूषण परीक्षण गरिएको थियो । तीमध्ये २० वटा सवारीसाधनले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइयो । मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ उपनिर्देशक चौधरीले भने ।

प्रदूषण मापदण्ड पूरा नगर्ने ती सवारीसाधनलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिएको विभागले जनाएको छ । विभागका अनुसार वायु प्रदूषण न्यूनीकरण, सवारीसाधनबाट निस्कने धुवाँको मात्रा नियन्त्रण तथा स्वच्छ वातावरण सुनिश्चित गर्ने उद्देश्यले यो प्रदूषण परीक्षण सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यकामा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा रहेकाले प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता संयुक्त प्रदूषण परीक्षणलाई निरन्तरता दिइएको विभागको भनाइ छ ।

मन्त्रालयले सवारीधनीलाई समयमै सवारीसाधनको मर्मत–सम्भार गर्न, नियमित रूपमा प्रदूषण परीक्षण गराउन तथा तोकिएको प्रदूषण मापदण्डको पालना गर्न आग्रह गरेको छ । वातावरण विभागले आगामी दिनमा पनि यस्ता प्रदूषण परीक्षणलाई निरन्तरता दिँदै मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।

यस्ता छन् सवारीसाधनको प्रदूषण परीक्षण गर्दाको तस्बिरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =