इयुको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने कामलाई प्राथमिकता दिन सांसद अधिकारीको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले युरोपेली युनियन (इयु) को हवाई सुरक्षा सूची (ब्ल्याक लिस्ट) बाट नेपाललाई हटाउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकारीले नेपालको हवाई सुरक्षाबारे अन्तर्राष्ट्रिय विश्वास कायम गर्दै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पनि सरकारले उक्त विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

उनले नागरिक उड्डयन प्राधिकरणको संस्थागत तथा नीतिगत सुधारलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराइन् । हवाई सुरक्षा मापदण्डलाई विश्वस्तरीय बनाउन आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति व्यवस्थापनमा सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘कूटनीतिक स्तरबाट इयुसँग तत्काल वार्ता गरी प्राविधिक प्रतिवेदन पेश गरियोस् । नागरिक उड्डयन प्राधिकरणको संस्थागत र नीतिगत सुधारलाई प्रभावकारी बनाइयोस् । हवाई सुरक्षा मापदण्ड विश्वस्तरीय बनाउन आधुनिक प्रविधि र जनशक्ति व्यवस्थापनमा जोड दिइयोस् । युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट नेपाललाई निकाल्ने विषय अब सरकारको उच्च प्राथमिकतामा परोस्,’ उनले भनिन् ।

सांसद अधिकारीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विश्वसनीयता बढाउन पनि हवाई उडान क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताइन् । उनले हवाई सुरक्षाको सुधारले पर्यटन क्षेत्रको विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =