मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि आगामी दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आयोजनाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी दिँदै कार्यकारी निर्देशक उपाध्यायले स्थायी हेडवर्क्स निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
उनका अनुसार आगामी भदौसम्ममा हेडवर्क्सको स्थायी डिजाइन तयार हुनेछ । २०७८ साल असार १ गते मेलम्चीको मुहानभन्दा माथिल्लो क्षेत्र भेमाथाङमा आएको अस्वाभाविक बाढी र लेदोका कारण स्थायी हेडवर्क्समा ठूलो क्षति पुगेपछि हाल वैकल्पिक डाइभर्सन टनेलमार्फत अस्थायी रूपमा पानी वितरण हुँदै आएको छ ।
हाल मनसुन सुरु भएकाले सुरुङमा लेदो पस्न नदिन र सुरुङको सुरक्षाका लागि असार १९ गतेदेखि पानी पठाउन बन्द गरिएको उनले जानकारी दिए । मौसम सफा भएपछि र खोलाको पानीको सतह घटेपछि पुनः पानी सञ्चालन गरिने उनको भनाइ थियो ।
‘हामी अहिले डिजाइन पुनरावलोकनको चरणमा छौँ । यसका लागि क्यानेडियन कन्सल्टेन्ट र पुल्चोक क्याम्पसका विज्ञहरूको सहयोग लिइएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ठेक्का सम्झौता गरी २०८६ साल असारसम्ममा हेडवर्क्स निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।
कार्यकारी निर्देशक उपाध्यायले आयोजनाले कानुनी तथा प्रशासनिक चुनौतीसमेत सामना गरिरहेको जानकारी दिए । उनका अनुसार मेलम्ची आयोजनासँग सम्बन्धित २८ वटा मुद्दा अदालतमा विचाराधीन छन् । तीमध्ये दुईवटा मुद्दा सिंगापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा रहेका छन् ।
इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको विवाद समाधानका क्रममा हालसम्म करिब ३२ करोड रुपैयाँ कानुनी प्रक्रियामै खर्च भइसकेको उनले बताए ।
उनले आयोजनामा नेतृत्व अस्थिरता पनि अर्को चुनौतीका रूपमा रहेको उल्लेख गरे । एक वर्षभित्रै चार जना कार्यकारी निर्देशक परिवर्तन हुँदा दीर्घकालीन निर्णय प्रक्रियामा असर परेको उनको भनाइ थियो । यद्यपि, वर्तमान मन्त्री र मन्त्रालयको सहयोगका कारण काम गर्ने वातावरण सहज बन्दै गएको उनले बताए ।
सिएमसी कम्पनीले आयोजना छाडेपछि स्थानीय आपूर्तिकर्ता (भेन्डर) हरूको बाँकी भुक्तानी व्यवस्थापनका लागि मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको उनले जानकारी दिए ।
मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा पनि अध्ययन भइरहेको उनले बताए । कन्सल्टेन्टले दुई वर्षभित्र विस्तृत प्रतिवेदन बुझाउने र त्यसपछि एसियाली विकास बैंक (एडीबी) सँगको ऋण सम्झौता प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ ।








