काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले भने- एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ

काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।

मंगलवार दोस्रो दिन पनि जारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा बोल्दै नियमित महाधिवेशन पक्षधर नेताहरूले यस्तो सुझाव दिएका हुन् ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ रु र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्नेबारेमा आजको बैठकमा पाँच जना नेताहरूले धारणा राखेको जानकारी दिए ।

उनकाअनुसार सबैले पार्टी एकताको चिन्ता गरेका छन् । नेपाली काँग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एक ठाउँ बस्नुपर्ने, साझा निर्णय गर्नुपर्ने, वैकल्पिक शक्ति निर्माण गर्नुपरे वा वैकल्पिक संगठन नै निर्माण गर्नुपरे पनि अब हच्किनु नहुने नेताहरूले बताएको जानकारी गराए ।

उनले भने ‘हिजोको बैठकमा प्रस्तावका रूपमा आएको साउन ६ गते बिपी स्मृति दिवस भव्य सभ्यताका साथ सम्पन्न गर्ने कुराको आज निर्णय भएको छ । पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ । सँगसँगै एकता हुन सकेन भने नेपालको लोकतान्त्रिक आन्दोलनमा आजसम्म जति पनि हाम्रा श्रद्धेय नेताहरूले आजका दिनसम्म योगदान पुर्याउनुभएको छ, त्यसलाई इतिहासमा नमेटिने गरी फेरि यसलाई निरन्तर लिएर जानका लागि अब हामीले पनि पाइला सार्नुपर्छ, त्यो साहस गर्नुपर्छ र नेपाली काँग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एक ठाउँ बस्नुपर्यो, साझा निर्णय गर्नुपर्यो र वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनु हुँदैन अथवा त्यसमा हामी धेरै आशङ्काहरू गर्नु हुँदैन, लिएर अगाडि जानुपर्छ भन्ने राय अधिकांश वक्ता साथीहरूको आएको छ । र यो बैठक भोलि २ बजे पनि निरन्तर चल्ने गरी आजको बैठक स्थगित भएको छ । आज ५ जना साथीहरूले बोल्नुभएको छ र कार्यवाहक सभापतिज्यूले बोल्नलाई पहिले नै फ्लोर ओपन गर्दिनुभयो र ५ जना साथीहरूले आफ्ना कुराहरू निरन्तर राख्नुभएको छ । र अधिकांश त वक्ताहरूको कुरा नै के छ भने अब अलमल नगरौँ, जे गर्ने हो छिटो गरौँ भन्ने छ ।’

उनले बैठक बुधवार ३ बजे सम्पर्क कार्यालय चुनदेवीमा पुनः बस्नेथरी स्थगित भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =