अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारेकी हुन् ।

उनले मलको अभाव हुन नदिनका लागि सम्बन्धित संघीय र प्रादेशिक मन्त्रालयहरूमा गुनासो सुनुवाइका लागि सम्पर्क व्यक्तिको व्यवस्था गरिएको पनि जानकारी दिइन् । मन्त्री चौधरीले मलका लागि बजेटको अभाव हुन नदिने आश्वासन अर्थ मन्त्रालयले दिएको पनि बताइन् ।

उनले भनिन् ‘हाल ९५ हजार मेट्रिक टन मल मौजाद छ । र जिटुजीमार्फत थप ५० हजार मेट्रिक टन चाँडै आपूर्ति हुने क्रममा रहेको छ । यसरी धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने देखिन्छ । मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध हुने प्रतिबद्धता भएको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु । साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्य योजना समेत तयार भइसकेको जानकारी गराउँदछु । रासायनिक मलको वितरण तथा उपलब्धताको गुनासो सुन्नका लागि संघीय मन्त्रालय, प्रादेशिक मन्त्रालयहरूमा गुनासो सुन्ने सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।’

मन्त्री चौधरीले सरकारले कृषकका लागि आवश्यक बीउविजनको पनि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =