बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गर्दा नौ जना प्रहरी अधिकारी मारिएका हुन् । घटनापछि केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी राखिएको उनले बताए ।
बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले पनि घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेको जानकारी दिए । उनले प्रारम्भिक रूपमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशङ्का गरिएको बताए ।
उनका अनुसार घटना लगत्तै अर्धसैनिक बल, प्रहरी र आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन् । आक्रमणकारीहरूको खोजी जारी रहेको जनाइएको छ ।
खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकार वर्षौंदेखि पृथकतावादी विद्रोह तथा सशस्त्र समूहको गतिविधिसँग जुध्दै आएको छ ।
अफगानिस्तान र इरानसँग सीमा जोडिएको यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा सञ्चालित पूर्वाधार परियोजनामाथि पटक–पटक आक्रमण हुने गरेका छन् ।
पाकिस्तानले सीमावर्ती क्षेत्रमा बढेका उग्रवादी गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ । तर अफगान अधिकारीहरूले त्यस्ता आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।
हालैका महिनाहरूमा पाकिस्तानले अफगान सीमावर्ती क्षेत्रमा हवाई आक्रमणसमेत गरेको छ । पाकिस्तानले ती कारबाही उग्रवादीलाई लक्षित भएको जनाएको भए पनि तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घले ती आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गर्दै आएका छन् ।








