महिलामाथि बढ्दो यौन दुर्व्यवहार, सुरक्षित छैनन् गल्ली र बस

प्रतिकार गर्ने कम, सहेर बस्ने धेरै

काठमाडौँ । आइतबार साँझ करिब साढे ६ बजेको समय । ललितपुरको इमाडोलको साँघुरो गल्ली हुँदै रमा (नाम परिवर्तन) एक्लै हिँडिरहेकी थिइन् । सडकमा खासै चहलपहल थिएन । उनी आफ्नो बाटो लागिरहेकी थिइन् । गल्लीमा उनलाई एक्लै हिँडिरहेको देखेपछि बैतडीका सुरेन्द्र भट्टले कपडा खोलेर आफ्नो गोप्य अङ्ग प्रदर्शन गरे । त्यो क्षण रमाका लागि भय, आक्रोश र अपमानले भरिएको थियो । धेरैजसो महिलाजस्तै उनी पनि चुप लागेर त्यहाँबाट भाग्न सक्थिन् । तर उनले फरक निर्णय गरिन् । रमाले साहस जुटाइन् । तुरुन्तै आफ्नो मोबाइल निकालिन् । भिडियो रेकर्ड गर्न थालिन् । आरोपीलाई पछ्याउँदै वरपरका मानिससँग सहयोग मागिन् । केही बेरमै स्थानीयको सहयोगमा ती पुरुष नियन्त्रणमा परे । भिडियोमा आरोपीले खुट्टा ढोग्दै ‘सरी’ भनेको दृश्य देखिन्छ । यो हर्कत गर्ने भट्ट सरकारी कर्मचारी हुन् । उनी पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ ।

रमाले उक्त भिडियो आइतबार सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । जसलाई १२ घण्टा नपुग्दै १३ लाख भन्दा बढीले हेरेका छन् । भिडियोमा उनले देखाएको बहादुरीको प्रशंसा गर्दै आफूहरू पनि धेरै पटक यस्तै हिंसामा परेको तर विभिन्न कारण त्यसको प्रतिकार गर्न नसकेको अनुभव साझा गरेका छन् । साथै उनीहरूले सही समयमा सही निर्णय लिएर महिलाहरूको हिम्मत बढाएको भन्दै धन्यवाद दिइरहेका छन् ।

रमाको घटना नयाँ होइन । केही साताअघि मात्रै सार्वजनिक बसमा एक युवतीले आफूलाई दुव्र्यवहार गर्ने पुरुषको भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरीले आरोपीलाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो । तर यस्ता घटना सामाजिक सञ्जालमा भाइरल हुने केही घटना मात्र हुन् । क्यामेरा नखुलेका, भिडियो नबनेका र उजुरीसम्म नपुगेका सयौँ घटना भने अझै अन्धकारमै छन् ।

सीता (नाम परिवर्तन) त्यस्तै एक पात्र हुन् । केही दिनअघि बिहान उनी सार्वजनिक बसमा यात्रा गर्दै थिइन् । कानमा इयरफोन लगाएर गीत सुनिरहेकी उनी अचानक झस्किइन् । कसैले उनको शरीरमा हात चलाइरहेको अनुभूति भयो । आँखा खोल्दा छेउमा बसेका करिब ५५–६० वर्षका पुरुषको हात उनको छातीसम्म पुगेको थियो ।

उनले तत्काल हात हटाउन भनिन् । ती पुरुष चुपचाप बसे । तर गन्तव्य नआउन्जेल सीताको मनमा डरले घर गरिरह्यो । आज पनि उनी सार्वजनिक बस चढ्दा त्यही घटना सम्झिन्छिन् ।

रमा र सीता प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन हजारौँ महिला सार्वजनिक सडक, बस, माइक्रोबस, पार्क, बजार र भीडभाड हुने स्थानमा कुनै न कुनै प्रकारको यौनजन्य हिंसाको सामना गरिरहेका छन् । कसैलाई शरीर छोइन्छ, कसैमाथि अश्लील टिप्पणी गरिन्छ, कसैलाई घुरेर हेरिन्छ, त कसैले आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने जस्ता विकृत व्यवहार सहन बाध्य हुन्छन् ।

सबैभन्दा बढी गुनासो सार्वजनिक यातायातबाट आउने गरेको छ । भीडको बहानामा महिलाको संवेदनशील अङ्ग छोइने, शरीरमा अनावश्यक रूपमा टाँसिने वा अश्लील व्यवहार गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । उभिएर यात्रा गर्दा यस्तो जोखिम झन् बढ्ने महिलाहरू बताउँछन् । प्राय सँगैका सिटमा बस्ने पुरुषले संवेदनशील अङ्गमा हात पु¥याउन खोज्ने घटना धेरै हुने गरेका छन् । सिटमा बस्दाभन्दा उभिँदा अझ बढी हिंसा भोग्नुपरेको सार्वजनिक यातायात सेवाका यात्रीको अनुभव छ । तरपनि प्रहरीसम्म भने यस्ता घटना न्यून मात्रै पुग्ने गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सार्वजनिक स्थलमा हुने महिला बालबालिका विरुद्धको यौनजन्य दुव्र्यवहारका घटना चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्म देशभर जम्मा ३४ घटना दर्ता भएका छन् । जसमा प्रदेश अन्तर्गत सबैभन्दा बढी कोशी प्रदेशमा २१, मधेशमा १, गण्डकीमा २, लुम्बिनीमा ५, कर्णालीमा १ र उपत्यकामा ४ गरी जम्मा देशभरी ३४ घटना दर्ता भएका छन् । तथ्याङ्कले समस्या सानो देखाए पनि वास्तविकता भने धेरै फरक रहेको अधिकारकर्मीहरू बताउँछन् ।

अझ कतिपय महिलाले भिडभाड भनी सामान्य रूपमा लिने गरेको र कतिपयले हिंसा हो भन्ने नबुझेर पनि प्रहरीसम्म जान नसकेको पाइन्छ । प्रहरीसम्म पुग्दा यी घटनामा प्रमाणको कमी हुनाले मुद्दा कमजोर बन्ने गरेको छ । हिंसाको घटना हुँदा महिलाले लगाएको लुगा, हिँडेको समय र बोली कस्तो थियो भनेर उनको नै कमजोरी खोतल्ने गरेको पनि पाइन्छ ।

महिला अधिकारकर्मी रजिना श्रेष्ठका अनुसार धेरै महिलाले कानुनी झन्झट, सामाजिक लाञ्छना र प्रमाण अभावको डरले उजुरी गर्न सक्दैनन् । कतिपयलाई कहाँ उजुरी गर्ने भन्ने जानकारीसमेत हुँदैन । अझ समाजले यस्ता व्यवहारलाई भीडमा त यस्तै हुन्छ भन्दै सामान्यीकरण गरिदिँदा अपराधी झन् निर्भीक बन्ने गरेका छन् ।

यस्ता हिंसात्मक घटनाका पीडितहरूमा मनोसामाजिक असर पनि पर्ने गरेको छ । यौनजन्य हिंसाको असर घटना भएको क्षणमा मात्रै सीमित हुँदैन । अरू किसिमका हिंसाजस्तै सार्वजनिक स्थानमा हुने हिंसाको पीडितमा लामो समयसम्म असर रहने मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा.ऋषभ कोइराला बताउँछन् । सार्वजनिक स्थानमा समेत हुने यस्ता घटनाले पीडित सुरक्षित छैन भन्ने अनुभूतिले मनमा डर उत्पन्न हुने गरेको छ । त्यो भयले पीडितलाई सामाजिक रूपमै अगाडी आउन गाह्रो हुने मनोचिकित्सक कोइरालाले बताए ।

कतिपय अवस्थामा त यस्ता हिंसाका घटनाले पीडितमा एन्जाइटी र डिप्रेशनसमेत हुन सक्ने उनको भनाई छ । डा. कोइराला मात्रै होइन, अर्का मनोचिकित्सक गणेश अमगाँई पनि सार्वजनिक स्थानमा हुने हिंसाबाट पीडितहरू आफूकहाँ परामर्श लिन आउने गरेको बताउँछन् । ‘मकहाँ परामर्श लिन आउने केही पीडितहरू सार्वजनिक स्थानमा हिंसामा परेको भनी आउने गर्नुभएको छ,’ उनले भने, ‘यो समस्या हाम्रो समाजमा जटिल बन्दै गएको छ ।’

महिलामाथि हुने हिंसा बढ्दै गएपछि गृहमन्त्रायले ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले समाजमा हुने यस्ता दुव्र्यवहार र उत्पीडनका घटना कदापि स्वीकार्य नहुने भन्दै उनले दोषी जोकोही भए पनि कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले हिंसा पीडितहरूलाई ढुक्क भएर आवाज उठाउन आग्रहसमेत गरेका छन् । ‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुव्र्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन । पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैमा चिन्ताको विषय हो,’ उनले लेखेका छन्, ‘यस्ता घटनाको म घोर भत्र्सना गर्दछु र दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने विषयमा दृढतापूर्वक उभिनेछु ।’

यता, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले पनि यौन हिंसा, दुव्र्यवहार र उत्पीडन कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी छन् । उनले दोषी जोसुकै भए पनि कानुन बमोजिम कारबाही हुने बताउँदै ढुक्क भएर आवाज उठाउन पीडितलाई आग्रह गरेकी छन् ।

यसरी सार्वजनिक रूपमै महिलामाथि हुने यौन हिंसाका घटनाले हाम्रो समाज कहाँ जाँदैछ भन्ने आम प्रश्न उब्जाउँछ । दैनिकरुपमा हुने यस्ता घटनाबाट महिला तथा बालबालिका पीडित हुँदै आएका छन् । सार्वजनिक स्थान सबैका लागि सुरक्षित हुनुपर्ने हो । तर महिलाका लागि सडक, गल्ली, बस र बजार अझै पनि डरको पर्याय बन्दै गएका छन् । दैनिक भइरहेका यस्ता घटना प्रहरीसम्म नपुग्नु आफैँमा ठुलो चिन्ताको विषय हो ।

जबसम्म पीडित बोल्न डराउँछन्, समाज मौन बस्छ र कानुनी प्रक्रिया सहज हुँदैन, तबसम्म यस्ता अपराधीले थप प्रश्रय पाइरहनेछन् । त्यसैले सार्वजनिक यातायातमा तत्काल उजुरी गर्ने सहज संयन्त्र, ट्राफिक प्रहरीसँग समन्वित प्रतिक्रिया प्रणाली, सीसीटीभीको प्रभावकारी प्रयोग र पीडितमैत्री कानुनी व्यवस्था अनिवार्य भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =