सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे

काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन् ।

सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसदमा उठेका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाएका हुन् ।

सांसद थेबेले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गरे । सरकारले निर्वाचनका समयमा गरेका वाचाहरू र नीति तथा कार्यक्रमबीच कुनै तालमेल नदेखिएको उनको तर्क छ । बजेट निर्माण प्रक्रियामा देखिएका गम्भीर त्रुटि र करका दर हेरफेरका विषयमा पनि सांसद थेबेले सरकारको आलोचना गरे ।

विगतमा सानो त्रुटि हुँदा समेत छानबिन समिति बन्ने गरेको स्मरण गराउँदै उनले अहिले बजेट वक्तव्य सार्वजनिक हुनुपूर्व नै सूचना बाहिरिँदा र सात–सात पटक दर रेट हेरफेर हुँदा समेत सरकारले कुनै जबाफदेहिता नदेखाएको बताए ।

उनले भने ‘सरकारले परीक्षा नै दिएको छैन भने हामीले कसरी अंक दिने ? प्रधानमन्त्रीज्यू संसदमा आउनुहुन्न, प्रश्नहरूको जवाफ दिनुहुन्न । पुरानो दलले यसो गर्याे र उसो गर्यो भनेर मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन । यति धेरै जवाफहीनता र जनताका प्रश्नबाट भाग्ने काम इतिहासमा यसअघि कहिल्यै भएको थिएन ।’

सांसद थेबेले सरकारका केही कदमहरूमाथि व्यङ्ग्य गर्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको, राजनीतिक मुद्दाहरूमा दोहोरो मापदण्ड अपनाइएको र सार्वजनिक यातायातको रङ परिवर्तनजस्ता सतही काममा मात्र सरकार अल्झिएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =