७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको छ, जसमा सगरमाथा संरक्षणलाई विशेष प्राथमिकता दिइनेछ ।

‘सगरमाथामाथि प्रेसर बढी भयो, भीड नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ,’ मन्त्री पौडेलले भने ।

उनले प्रस्तावित व्यवस्थाअनुसार अनुभवी आरोही मात्र सगरमाथा आरोहणका लागि योग्य हुने व्यवस्था गर्न खोजिएको बताए । ‘अब ७ हजार मिटरभन्दा माथिका हिमाल नचढी सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान हामी ल्याउँदैछौँ,’ उनले भने ।

मन्त्री पौडेलले हिमाल आरोहण रोयल्टी वृद्धि गर्ने विषय अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढाइने जानकारी दिए ।

उनले सगरमाथामा बढ्दो चापले दीर्घकालीन संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै सरकार त्यसप्रति गम्भीर रहेको उल्लेख गरे । त्यसैगरी उनले पर्यटनको विविधीकरणलाई प्राथमिकतामा राख्दै एकै प्रकारको पर्यटनमा निर्भर रहन नहुने बताए ।

मन्त्री पौडेलले नेपाल वायुसेवा निगमअन्तर्गत ट्विनअटर विमानको संरक्षण र विस्तारका लागि आवश्यक निर्देशन दिइने जानकारी पनि दिए ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा कूटनीतिक पहल भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =