भीष्मराज आङदेम्बेको प्रश्न- के यो देश सुकुम्वासीको होइन ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
कोही पनि नागरिकको बसोबास कानुनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताए । सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरे । समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शून्य भएको लक्षण भएको बताए ।
व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताए ।
उनले भने ‘कुनैपनि नागरिकको बसोबास गैरकानूनी थियो होला सभामुख महोदय । तर उसको जन्म त गैरकानूनी थिएन होला नि । जन्म दिने आमाको गर्भ त गैरकानूनी थिएन होला नि । उ नेपाली भूमिमा जन्मनु पनि गैरकानूनी थिएन होला नि सभामुख महोदय । त्यसैले सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गरिनुपर्दछ । तर समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो त्यो सरकारको मानवीय संवेदना शून्य भएको लक्षण थियो,छन्,थिए ।
एउटा परिवारलाई हटाउनु अघि कम्तीमा त्यो परिवार भोलि देखि कहाँ बस्छ ? वृद्ध अशक्त गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन ? राज्य यति सारो संवेदनहीन बन्न मिल्छ ? हिजो व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने । सभामुख महोदय, आज त्यही क्रियाकलाप हामीहरूले देखिराखेका छौँ । के यो देश ठुला बडाको मात्रै हो ? कालो चस्मा लाउने कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै हो सभामुख महोदय ? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? होइन भने भन्नुपर्यो । यदि हो भने किन अत्याचार गरिन्छ ? शक्तिहीन नागरिक माथि । के यो लोक कल्याणकारी राज्यको चरित्र अनुकूल छ ? म सोध्न चाहन्छु सरकारलाई सभामुख मार्फत । त्यसैले मेरो विनय विनम्र आग्रह छ सुकुम्वासी समस्या समाधान गरौँ तर मानवीय ढङ्गले गरौँ । मानव मर्यादालाई ख्याल गरौँ सत्ताको उन्मादमा होइन ।’
नेता आङदेम्बेले सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन रु भन्दै प्रश्न गरे ।








