कर्तव्यपालनको क्रममा ज्यान गुमाएका असई रोकाहाको घरमा पुगेर प्रहरी टोलीद्वारा समवेदना

पोखरा। डिउटीमै रहँदा अचानक बिरामी परेर ज्यान गुमाएका पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक (असई) गुन्ज बहादुर रोकाहाको परिवारलाई भेट्न कास्की प्रहरीको टोली उनको गाउँ पुगेको छ।

कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (SP) नवीन कार्की नेतृत्वको टोली बिहीबार स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित रोकाहाको घरमै पुगेर शोक सन्तप्त परिवारलाई भेटेको हो।

उपचारका क्रममा भएको थियो निधन

पर्यटक प्रहरी कार्यालय पोखरामा कार्यरत रोकाहा डिउटीमा खटिएकै बेला अचानक बिरामी परेका थिए। उनलाई तत्काल उपचारका लागि पोखराको नेपाल मणिपाल शिक्षण अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा गत असार ११ गते उनको दुःखद निधन भएको थियो।

घरमै पुगेर श्रद्धाञ्जली र सहानुभूति

दिवङ्गत रोकाहाको घर पुगेर प्रहरी उपरीक्षक कार्कीले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे।

“सङ्गठनले एक जना कर्तव्यनिष्ठ सदस्य गुमाएको छ, यस दुःखद घडीमा प्रहरी सङ्गठन रोकाहाको परिवारको साथमा छ,” प्रहरी टोलीले ढाडस दिँदै भन्यो।

उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (DSP) राजेन्द्रकुमार उपाध्याय र पर्यटक प्रहरी कार्यालयका अन्य कर्मचारीहरूले पनि रोकाहाको आत्माको शान्तिको कामना गर्दै शोकमा डुबेको परिवारप्रति सहानुभूति प्रकट गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =