सरकारका सय दिनबारे रवि– ‘सरकारको प्राथमिकता सुशासन र सेवा प्रभावमा छ’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरुवात गरेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले शुरुवाती सय दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका हुन् । ‘सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धीत विषयहरुमा बढी जोड लगायो । सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ । लगाउनुपर्ने पनि छ । सुशासनका मुद्दामा अझ बढी ध्यान गयो । विकास निर्माण र दुरगामी विषयहरुमा आज गरिएको कामको प्रभाव अझ पछाडि देँखिदै आउँछ’ उनले भने ।
उनले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले दुई–तीन वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा दुई–तीन वर्षभन्दा पहिले अपेक्षा गर्न नहुने बताए ।
यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दाबी छ । ‘भौतिक पुर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ । त्यसको नतिजा दुई तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला । यद्धपी तत्काल देखिने नतिजाहरुमा समेत काम भएकै छ । सुशासन अहिले सरकारको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा सेवालाई कम झन्झटिलो बनाउने क्रमको शुरुवात भएको छ । यो राम्रो बिगनिङ जस्तो मलाई लागेको छ’ उनले भने ।
उनले नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै कम झन्झटिलो बनाउने प्रक्रियाको शुरुवात भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिँदै जाने विश्वास व्यक्त गरे ।








