सरकारबाट अन्याय भएको महसुस गर्दै गुनासो गर्ने नागरिकको संख्या बढ्दै गएको छ: सचेतक परियार

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सचेतक पदमबहादुर परियारले सरकारबाट अन्याय भएको महसुस गर्दै गुनासो गर्ने नागरिकको संख्या बढिरहेको बताएका छन् ।

शुक्रवारको सभाको बैठकमा बोल्दै उनले नागरिकहरू सरकारप्रति दिन प्रतिदिन असन्तुष्ट बन्दै गएको बताएका हुन् ।

उनले माइतीघर मण्डलामा सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्नेहरू बढिरहेको बताए । दृष्टिविहीनहरूले लामो समयदेखि आन्दोलन गर्दै आएपनि उनीहरूका जायज मागहरू समेत सरकारले पूरा गर्न नसकेको बताए ।

उनले भने ‘माइतीघर मण्डलामा सरकारप्रति असन्तुष्टि जनाउँदै, सरकारबाट अन्याय महसुस गरेर आफ्ना मागहरू राख्ने नेपाली नागरिकहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । यस सन्दर्भमा विभिन्न समुदायहरू, विशेषगरी दृष्टिविहीन साथीहरूले पनि आन्दोलन गरिरहनुभएको छ । उहाँहरूले आफूले गरिरहेको काम गर्न नपाएको, सरकारले आवश्यक अवसर उपलब्ध नगराएको, जीविकोपार्जनका लागि पर्याप्त व्यवस्था नगरेको तथा स्थायी पुनर्स्थापनाको स्पष्ट व्यवस्था नभएको जस्ता विषयहरू उठाउँदै आन्दोलनमा उत्रिनुभएको छ । यस विषयमा सम्बन्धित माननीय मन्त्रीज्यूहरूको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सरकारबाट अन्याय महसुस गरेर आफ्नो कुरा राख्न आउने नागरिकहरूको मागलाई गम्भीरतापूर्वक लिन र उनीहरूको जीविकोपार्जन तथा पुनः स्थापनाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =