फिफा विश्वकप २०२६: प्रि-क्वार्टरफाइनलको समीकरण पूरा हुन तीन खेल बाँकी
यी अन्तिम तीन खेलले नकआउट चरणको बाँकी समीकरणको टुङ्गो लगाउनेछन्।

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिताका अधिकांश खेलहरू सम्पन्न भइसकेका छन् भने अब अन्तिम १६ ( प्रि-क्वार्टरफाइनल ) को पूर्ण समीकरण तय हुन मात्र तीन खेल बाँकी रहेका छन्। यी अन्तिम तीन खेलले नकआउट चरणको बाँकी समीकरणको टुङ्गो लगाउनेछन्।
नेपाली समय र खेल तालिका अनुसार आगामी भिडन्तहरू यस प्रकार रहेका छन्

अस्ट्रेलिया विरुद्ध इजिप्ट
नेपाली समय अनुसार आज शुक्रवार (असार १९ गते) राति ११:४५ बजे पहिलो खेलमा अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुनेछन्। यो खेल एटी एन्ड टी (AT&T) स्टेडियममा खेलाइनेछ। यो खेलमा दुवै टोली अर्को चरणमा स्थान सुरक्षित गर्ने दाउमा मैदान उत्रिनेछन्।
अर्जेन्टिना विरुद्ध केप भर्डे
शनिवार बिहान (असार २० गते) ३:४५ बजे साबिक विजेता अर्जेन्टिनाले केप भर्डेको सामना गर्नेछ। हार्ड रक (Hard Rock) स्टेडियममा हुने यस खेलमा विश्वभरका फुटबल समर्थकको ध्यान विशेष गरी केप भर्डेले अर्जेन्टिना विरुद्धको खेल प्रदर्शनमा केन्द्रित रहनेछ।
कोलम्बिया विरुद्ध घाना
राउन्ड अफ ३२ को अन्तिम खेल शनिवार बिहान ७:१५ बजे कोलम्बिया र घानाबिच हुनेछ। यो खेल सम्पन्न भएसँगै यस विश्वकपमा अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ।
निर्णायक खेलहरू नकआउट चरणको नियम अनुसार यो खेलमा पराजित हुने टोलीको विश्वकप यात्रा यहीँ समाप्त हुने भएकाले तीनै खेल निकै महत्त्वपूर्ण र उच्च प्रतिस्पर्धात्मक हुने निश्चित छ। अन्तिम १६ को टिकट काट्न कुन-कुन टोली सफल हुन्छन् भन्ने कुरा भोलि बिहानसम्ममा स्पष्ट भइसक्नेछ।








