फिफा विश्वकप २०२६

फिफा विश्वकप: १३ टोली अन्तिम १६ मा, युरोपेली जाइन्ट पोर्चुगल र स्पेनको टक्कर

काठमाडौँ। फिफा विश्वकप २०२६ को नकआउट चरण झन् रोमाञ्चक बन्दै गएको छ। राउन्ड अफ ३२ का अधिकांश खेलहरू सम्पन्न भएसँगै १३ टोलीले अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

हालसम्म तय भएको तालिकाअनुसार यो पटकको विश्वकपमा फुटबल प्रेमीहरूले केही निकै रोमाञ्चक र कडा प्रतिस्पर्धा देख्न पाउने भएका छन्। क्रोएसियालाई पराजित गरेको पोर्चुगल र अस्ट्रियालाई हराएको स्पेनबिच अन्तिम १६ मा बहु प्रतीक्षित युरोपेली भिडन्त हुने निश्चित भएको छ, जसले विश्वभरका समर्थकहरूको ध्यान तानेको छ।

त्यस्तै, जर्मनी र स्विडेन जस्ता बलिया टोलीहरूलाई पाखा लगाउँदै अघि बढेका प्याराग्वे र फ्रान्सबिच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ भने दक्षिण अफ्रिकालाई हराएको क्यानडा र बलियो नेदरल्यान्ड्सलाई स्तब्ध पारेको मोरक्को पनि आमनेसामने हुने भएका छन्।

अल्जेरियालाई हराएर पहिले नै अन्तिम १६ मा पुगिसकेको स्विट्जरल्यान्डले घाना र कोलम्बियाबिचको विजेतासँग खेल्नेछ। त्यस्तै, अर्जेन्टिना–केप भर्डे र अस्ट्रेलिया–इजिप्ट खेलका विजेताहरूबिच अन्तिम १६ को अर्को रोमाञ्चक भिडन्त हुनेछ।

आयोजक र अन्य दाबेदारहरूको समीकरण:

  • अमेरिका र बेल्जियम: आयोजक अमेरिका बोस्निया एन्ड हेर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा पुगेको छ। अब उसले सेनेगललाई पराजित गरेको बेल्जियमको सामना गर्नेछ।
  • ब्राजिल र नर्वे: जापानलाई पाखा लगाएको ब्राजिल र आइभोरी कोस्टलाई हराएको नर्वेबिच पनि रोमाञ्चक भिडन्त तय भएको छ।
  • मेक्सिको र इङ्गल्यान्ड: अर्को आयोजक राष्ट्र मेक्सिकोले इक्वेडरलाई हराएपछि अब प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई पराजित गरेको इङ्गल्यान्डसँग क्वार्टर फाइनल प्रवेशका लागि भिड्नेछ।

यो समाचार तयार पार्दासम्म राउन्ड अफ ३२ का अन्तिम तीन खेलहरू हुन बाँकी छन्। अब नेपाली समय अनुसार शुक्रवार राती र शनिवार बिहान हुने तीन खेल (अर्जेन्टिना र केप भर्डे, अस्ट्रेलिया र इजिप्ट, तथा घाना र कोलम्बिया) बिच को नतिजा सँगै प्रि-क्वार्टरफाइनलको समीकरण पुरा हुनेछ।

विश्वकपको प्रि-क्वार्टरफाइनलमै पोर्चुगल–स्पेन, ब्राजिल–नर्वे, मेक्सिको–इङ्गल्यान्ड, र अमेरिका–बेल्जियम जस्ता शक्तिशाली टोलीहरूबिचको उच्चस्तरीय भिडन्तले यो संस्करणलाई अझै रोमाञ्चक र ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =