अमेरिकी सेनामा कार्यरत सुनील थापाको गोली लागेर मृत्यु

काठमाडौं । अमेरिकी सेनामा कार्यरत नेपाली युवा २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । दुई दिनअघि भएको घटनामा तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेको प्रारम्भिक जानकारी परिवारले पाएको छ । तर अमेरिकी पक्षबाट यसको आधिकारिक पुष्टि भइसकेको छैन ।
सुनील अमेरिका निवासी समाजसेवी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन् । उनी हालै मात्र अमेरिकी सेनामा पदोन्नति भएका थिए । पदोन्नतिपछि दिइने थप तालिमका क्रममा दुर्घटनावश गोली लागेको हुन सक्ने पारिवारिक स्रोतको भनाइ छ ।
छोराको निधनपछि हेम थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘जीवनको सबैभन्दा दुःखद घडी… मेरो जीवनमा नसोचेको भयो । मेरो र मेरो परिवारको खुसी शत्रुले मात्र होइन, भगवानले समेत देख्न सकेनन् । कति मार्नुछ मार भगवान्… जिउँदो लास भएर बाँचेकै हो, अझै बाँचुला, सहुँला ।’
थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा र छोरी चिकित्सक हुन् भने कान्छा छोरा सुनील अमेरिकी सेनामा कार्यरत थिए ।








