सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो जल सङ्कट र सहरी डुबानको समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने उद्देश्यले सिभिल सर्भिस अस्पताल परिसरमा कृत्रिम भू–जल पुनर्भरण (आर्टिफिसियल ग्राउन्ड वाटर रिचार्ज) परियोजना सुरु गरिएको छ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको परियोजनाको मङ्गलवार शिलान्यास गरिएको हो। कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सीसीबीएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले काठमाडौँ उपत्यकामा बढ्दो जलसम्बन्धी चुनौती समाधान गर्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्र बिच सहकार्य अपरिहार्य रहेको बताएका थिए।

काठमाडौँमा भू–जलको सतह निरन्तर घट्दै जानुका साथै वर्षा याममा सहरी डुबानको समस्या बढिरहेको अवस्थामा यो परियोजनाले वर्षाको पानी तथा सतहमा बग्ने पानी सङ्कलन गरी जमिनमुनिको जल भण्डार (एक्विफर) पुनर्भरण गर्ने दिगो प्रणालीको नमुना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

करिब ४ हजार ३४५ वर्ग मिटर क्षेत्रबाट वर्षाको पानी सङ्कलन गर्ने गरी निर्माण हुने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अनुमान गरिएको छ। यसले स्थानीय क्षेत्रमा डुबानको जोखिम न्यूनीकरण गर्नुका साथै दिगो सहरी जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पतालका उपसचिव अच्युतराज रेग्मीले कोका–कोला र सीआईयूडीको पहलप्रति धन्यवाद व्यक्त गर्दै यस परियोजनाबाट अस्पताल परिसर र आसपासका समुदायले प्रत्यक्ष लाभ पाउने बताए। उनले भविष्यमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमहरूमा निरन्तर सहकार्यको अपेक्षा रहेको उल्लेख गरे।

यो परियोजना बोटलर्स नेपाल लिमिटेड, कोका–कोला बेभरेजेज नेपाल र सीआईयूडीबीच जल स्रोत संरक्षणका क्षेत्रमा भइरहेको दीर्घकालीन सहकार्यको निरन्तरता हो। यसअघि काठमाडौँ महानगरपालिका–३ को रानी बारी, भक्तपुरको मध्यपुर थिमीस्थित यूसेप, ललितपुर महानगरपालिकाको राजदल सैनिक ब्यारेक, काठमाडौँ महानगरपालिका–१६ को बालाजु पार्क तथा हालै काठमाडौँ महानगरपालिकाका वडा नम्बर २२ र २५ मा यस्ता कृत्रिम भू–जल पुनर्भरण परियोजनाहरू सफलतापूर्वक सञ्चालनमा आइसकेका छन्।

यी परियोजनाले सार्वजनिक र निजी क्षेत्र बिचको सहकार्यबाट नेपालको बढ्दो जल चुनौती समाधानका लागि समुदायमैत्री, प्रभावकारी तथा विस्तार गर्न सकिने दिगो मोडेल विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको आयोजकहरूको भनाइ छ।

सिभिल सर्भिस अस्पतालमा निर्माण हुन लागेको यो परियोजना भविष्यमा अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संस्थाहरूले समेत अनुकरण गर्न सक्ने नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। यसले दीर्घकालीन रूपमा भू–जल संरक्षण, सहरी उत्थानशीलता तथा दिगो जल व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कोका–कोला बेभरेजेज नेपालले जल संरक्षण, भू–जल पुनर्भरण र समुदायको जीविकोपार्जन सुधारका लागि वाटरएड नेपाल, सीआईयूडी, स्मार्ट पानी र स्प्ल्याससँग सहकार्य गर्दै एकीकृत जल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले विश्वव्यापी वातावरणीय प्रतिबद्धताअनुसार सन् २०३० सम्म आफूले बिक्री गर्ने प्रत्येक बोतल सङ्कलन र पुनः प्रयोग (रिसाइकल) गर्ने लक्ष्यका साथ डोको रिसाइक्लर्स र खालि सिसीसँग पनि सहकार्य गरिरहेको छ। साथै, ‘सक्षम’ कार्यक्रममार्फत तीन हजारभन्दा बढी महिला खुद्रा व्यवसायीलाई वित्तीय साक्षरता, आतिथ्य सेवा, सरसफाइ व्यवस्थापन तथा डिजिटल वालेट प्रयोगसम्बन्धी तालिम प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ।

यस्तै, सीआईयूडीले नेपालमा दिगो, समावेशी तथा नागरिक–केन्द्रित सहरी विकासका लागि नगरपालिकाहरू, स्थानीय समुदाय तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै जल सुरक्षा, जलवायु उत्थानशीलता, सरसफाइ र वातावरण व्यवस्थापनका क्षेत्रमा विभिन्न नव प्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =