रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपश्चात् निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधवार सम्पन्न भएको छ ।
पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न साङ्गठनिक निर्णयहरू गर्दै महत्त्वपूर्ण आयोगहरू गठन गरेको हो । बैठकको सुरुमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पार्टी सभापति रवि लामिछानेले निर्वाचित सदस्यहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ र प्रमाणपत्र प्रदान गरेका थिए ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै महामन्त्री विपिन आचार्यले पहिलो एजेण्डाका रूपमा महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, सुरक्षाकर्मी, सरकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरिएको बताए ।
त्यसैगरी, निर्वाचन आयोगबाट अनुमोदित नयाँ विधानको व्यवस्था बमोजिम बैठकले पार्टीका तीनवटा महत्त्वपूर्ण आयोगहरू गठन गरेको छ । जसअन्तर्गत अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनीत गरिएको छ । निर्वाचन आयोग र लेखा आयोगको हकमा भने पुराना संरचनाहरूलाई भंग गरी सोही सदस्यहरूलाई पुनः जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
केन्द्रीय समितिमा रिक्त रहेका सदस्य, पदाधिकारी तथा प्रवक्ताको मनोनयनका सम्बन्धमा भने यस बैठकमा कुनै निर्णय नभएको महामन्त्री आचार्यले प्रस्ट पारे ।
उनकाअनुसार मनोनयनको अधिकार पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी बमोजिम आगामी बैठकहरूमा यस प्रक्रियालाई अगाडि बढाइनेछ । साथै बैठकमा पार्टीको ‘डिजिटल डोमेन’ र आन्तरिक व्यवस्थापनका विषयमा समेत प्रारम्भिक छलफल भएको जानकारी दिए ।








