प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि नयाँ कानुन र संरचना बनाउन माग

काठमाडौं । राष्ट्रिय सभामा प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि संकल्प प्रस्ताव पेस भएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोगमार्फत हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण र महिलाको हक संरक्षणका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गर्न माग गर्दै सभामा संकल्प प्रस्ताव पेस गरेकी हुन् ।

प्रस्तुत उक्त प्रस्तावलाई १७ जना सांसदहरूले समर्थन गरेका छन् । प्रस्ताव पेस गर्दै सांसद चन्दले प्रविधिको विकाससँगै महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको स्वरूप परिवर्तन भएको र यसले अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर सङ्कट पैदा गरेको बताइन्। सांसद चन्दले प्रविधिजन्य हिंसाका लागि पीडक र पीडित आमने–सामने हुनु नपर्ने, नक्कली परिचय (फेक आईडी) प्रयोग गरेर संसारको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने र यस्ता अपराधको कुनै भौतिक सीमा नहुने उल्लेख गरिन् ।

उनले ‘साइबर स्टकिङ’, ‘साइबर बुलिङ’, ‘रिभेन्ज पोर्न’, ‘डीप फेक’ र ‘अनलाइन ग्रुमिङ’ जस्ता अपराधले समाजमा विकृति फैलाएको र महिलाहरूलाई मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याको स्थितिसम्म पुर्‍याएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद चन्दले नेपालको विद्यमान कानुनी व्यवस्था साइबर अपराध नियन्त्रणका लागि अपर्याप्त रहेको औंल्याइन् ।

उनले भनिन्, ‘फेसबुक वा अन्य सामाजिक सञ्जालमा आफ्ना विचार राख्न डर लाग्ने स्थिति सिर्जना भएको छ । एक सांसदले त बोल्न डराउनुपर्ने अवस्था छ भने सामान्य किशोरीहरूको अवस्था कस्तो होला ? विद्युतीय कारोबार ऐन, २०६३ को आधारमा कतिपय मुद्दा चलाइए पनि सो ऐनले साइबर अपराधलाई स्पष्ट रूपमा परिभाषित गर्न सकेको छैन् ।’

सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरू (मेटा आदि) सँग डाटा लिनका लागि आवश्यक ‘म्युचुअल लिगल असिस्टेन्स ट्रिटी’ नहुँदा अपराधीलाई कारबाही गर्न समस्या भइरहेको चन्दले बताइन् । साइबर ब्युरो काठमाडौंमा मात्र केन्द्रित हुँदा दूरदराजका पीडितहरू न्यायबाट वञ्चित भएको तथ्याङ्क पनि उनले प्रस्तुत गरिन् । आर्थिक वर्ष २०७५/७६ मा ३५७ वटा मुद्दा दर्ता भएकोमा हाल सो सङ्ख्या बढेर १९ हजार पुगेको र तीमध्ये अधिकांश १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू पीडित रहेको उनले जानकारी दिइन्।

सांसदहरुले डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न अविलम्ब कानुनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद चन्दद्वारा प्रस्तुत उक्त प्रस्तावको समर्थन गर्दै सांसद पदमबहादुर परियारले नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरीहरू हिंसाको सिकार भइरहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०२४-२५ अनुसार ८५.३ प्रतिशत नेपालीको हातमा स्मार्टफोन छ, तर डिजिटल सुरक्षा फिचर्स प्रयोग गर्न जान्नेहरू २३.८ प्रतिशत मात्र छन् ।’

त्यस्तै, सांसद रोशनी मेचेले सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाले डिजिटल स्वरूप धारण गरेको बताइन् । एआई र डिप फेक जस्ता प्रविधिले महिलाको सुरक्षित सहभागितालाई संकुचित पारेको उल्लेख उनले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनीहरू नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

छलफलमा सहभागी सांसद मिना सिंह रखालले नेपालको संविधानको धारा १८ र ३८ ले महिलाको हक र समानताको प्रत्याभूति गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन् । उनले पीडितमैत्री न्याय प्रणाली, निःशुल्क कानुनी सहायता र डिजिटल प्रमाणको संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेकोमा जोड दिइन् ।

त्यस्तै, सांसद नरबहादुर विष्टले २०६३ सालको विद्युतीय कारोबार ऐन वर्तमान डिजिटल युगका लागि अपुरो रहेको तर्क गरे । २०७२ को संविधान अनुकूल नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले एउटा साइबर मुद्दा दर्ता गर्न दार्चुलाबाट काठमाडौं धाउनुपर्ने बाध्यता छ । त्यसैले सातै प्रदेशमा साइबर ब्युरो विस्तार गरी दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्छ ।’

छलफलमा सहभागी सांसदहरूले प्रविधिजन्य हिंसा रोक्न सरकारले तुरुन्तै कार्यान्वयन योजना बनाउनुपर्ने र पीडितलाई शीघ्र न्याय दिने संयन्त्र निर्माण गर्नुपर्नेमा ऐक्यवद्धता जनाएका छन् । यो संकल्प प्रस्तावले संविधान प्रदत्त हकको रक्षा गर्दै डिजिटल युगमा सुरक्षित र मर्यादित वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =