ओलीको आरोप- सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गरेको हो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको आरोप लगाएका छन् ।

नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका सम्बद्ध पक्षलाई निर्देशन दिए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए ।

देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने ‘खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्र खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन । यसलाई जरैदेखि परिवर्तन गर्नु पर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ । अनि मात्रै परिवर्तन हुन्छ । तपाईँहरूको मनोबल कमजोर हुनुहुँदैन । एन्फा अहिले प्रतिबन्ध भयो । त्यसलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरू अनेत्रका जस्तै विभिन्न खेलाडीहरूको नाम चम्किएजस्तै नेपाली खेलाडीहरूको पनि अन्तर्राष्ट्रिय जगतमा नाम चम्किन सक्छ । उनीहरूको कारणले नेपालको प्रतिष्ठा बढ्नसक्छ । यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस् ।’

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =