सरकारप्रति दृष्टिविहिनहरुको आक्रोश- ‘सरकार आफैँ दृष्टिविहीन भयो’

काठमाडौँ । दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् ।
सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने उनीहरूको माग छ ।
सरकारले बेवास्ता गर्दा पनि आफूहरू विभिन्न पेसा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा फेरि रकार तगारो बनेर उभिएको उनीहरूको गुनासो छ ।
धर्नामा सहभागी दृष्टिविहीन विष्णु उपाध्याय दृष्टिविहीनहरू आधारभूत अधिकार सुनिश्चित गर्नको लागी पनि धर्नामा बस्नुपर्ने अवस्था आएको बताउँछन् । उनकाअनुसार दृष्टिविहीन नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो । तर सरकारले आफैँ स्वरोजगार भइरहेकाहरूलाई पनि दुःख दिने गरेको उनको भनाई छ ।
सकारले सम्मानजनक ढंगले दृष्टिविहीनहरूको व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेसा निर्बाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनको माग छ ।
उनले सरकारले हाल उपलब्ध गराउने गरेको मासिक २ हजार १ सय २८ रुपैयाँ भत्ताले दैनिक जीवनयापन गर्न नसकिने बताए । बढ्दो महँगीका कारण कम्तीमा २० देखि ३० हजार रुपैयाँ बराबरको सामाजिक सुरक्षा आवश्यक रहेको उनको भनाई छ । सरकारले दृष्टिविहीनहरूको संवेदनशीलता र पीडालाई गम्भीर रूपमा बुझ्नुपर्ने उनले बताए ।
उनले भने ‘सरकारले सम्मानजनक रूपमा हामीलाई व्यवस्थापन गर्नुपर्छ । यस्तै योग्यता क्षमता र अनुभवको आधारमा सम्मानित रोजगारको व्यवस्थापन गर्नुपर्छ । रोजगारीको व्यवस्थापन हुन नसकिन्जेलसम्म जे गरिरहेका छौँ, त्यो काम गर्न दिनु पर्छ । यहाँ मार्केटिङ गर्ने साथीहरू पनि हुनुहुन्छ, सडक संगीतमा आबद्ध साथीहरू पनि छौँ । सरकारले अहिले जुन भत्ता दिएको छ, त्यो भत्तामा व्यापक वृद्धि गर्नु पर्छ । अरू सबैको तलब भत्ता वृद्धि हुने तर हाम्रो भत्तामा किन वृद्धि नहुने रु हामीलाई किन अपमान, किन असमान रु यो त भएन नि । हाम्रो संवेदनशीलता कति छ, हाम्रो संवेदना वा पिडा कति छ, नेपाल सरकारले बुझ्न पर्छ । अहिलेको महँगी अनुसारको २० देखि ३० हजार रुपैयाँ नदिएसम्म हाम्रा आवश्यकताहरू पुरा नहुने अवस्थामा छ । २ हजार १२८ रुपैयाँले ग्यास किने, चामल किन्न पुग्दैन । अहिले ग्यासको भाउ कति पुग्यो रु चामल किने ग्यास किन्न पुग्दैन । के काँचो चामल खाने वा ग्यासको आगो मात्रै ताप्ने त रु यस्ता कुराहरूमा सरकारले बडो संवेदनशील बडो गम्भीर भएर सोच्नुपर्छ ।’
आन्दोलन समितिका सहसंयोजक पूर्णबहादुर रोकाले सरकार आफूहरूको आन्दोलनबारे पूर्ण रूपमा जानकार हुँदाहुँदै पनि बेवास्ता गरिरहेको आरोप लगाए । आन्दोलन हालसम्म शान्तिपूर्ण रहेको उल्लेख गर्दै सरकारले समयमै संवाद र पहल नगरे अझ ठूलो संख्यामा दृष्टिविहीनहरू आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
सरकारले वार्ताका लागि बोलाएर माग र मुद्दा सुनिश्चित हुने आधार बनाए वातामा सहभागी हुने उनको भनाई छ ।
उनले भने ‘हाम्रो आन्दोलनको विषयमा सरकारलाई जानकारी छैन भन्न मिल्दैन । जानकारी छ तर उसले सुनेर पनि नसुनेको जस्तो, देखेर पनि नदेखेको जस्तो गरेको छ । हामी संसार नदेख्ने भएर पनि दृष्टिविहीन भएका छौँ, आज नेपाल सरकार संसार देख्ने भएर पनि दृष्टिविहीन भएको छ । अहिलेसम्म हामी शान्तिपूर्वक बसिराखेका छौँ । तर यही माइतीघर मण्डलाबाट नेपाल सरकारलाई के भन्न चाहन्छु भने भोलि दृष्टिविहीनहरूको भिड थाम्नु नसकिने हो कि रु यो कुराको महसुस नेपाल सरकारलाई छ कि छैन ।’
धर्नामा सहभागी दिलबहादुर बुढाले आफू जीविकोपार्जनका लागि अगरबत्ती विक्री गर्ने गरेको जानकारी दिँदै सडकमा व्यापार गर्नु रहर नभई बाध्यता भएको बताए । धेरै दृष्टिविहीनहरू उच्च शिक्षा हासिल गरेका, डिग्री प्राप्त गरेका तथा विभिन्न सीप र क्षमता भएका भएपनि रोजगारी नपाउँदा सडकमा सामान बेच्न बाध्य भएको उनको भनाई छ ।
उनले नगर प्रहरी र सुरक्षाकर्मीहरूले विशेषगरी दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूमाथि मात्रै कडाइ गर्ने गरेको उनले गुनासो गरे । उनले सरकारले दृष्टिविहीनहरूको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको आरोप पनि लगाए । उनले सरकारमा रहेकाहरुलाई केही समय आँखामा पट्टी बाँधेर दृष्टिबिहिनका पिडा बुझ्न पनि आग्रह गरे ।
उनले भने ‘दृष्टिविहीन साथीहरू पढेलेखेका पनि धेरै जना हुनुहुन्छ । कोही लाइसेन्स भएको व्यक्तिहरू हुनुहुन्छ, कोही डिग्री पास गरेको हुनुहुन्छ । म अहिले ब्याचलर फोडेर पढेको व्यक्ति हो र मेरो डकुमेन्ट पनि अहिले बक्समा थन्किरहेको छ । आफ्नो परिवार जीवन निर्वाह गर्नको लागि केही न केही मान्छेले दुःख र सुख गर्नै पर्ने रहेछ । हामी ठाउँ–ठाउँमा आफ्नो कलाहरू, सिपहरू केही टेक्निकल सामानहरू रोडमा अथवा केही सडकमा राखेर बेच्छौँ । प्राय जसो नगर प्रहरी, पुलिसहरूले सामान किन जथाभाबी राखेको रु भनेर गाली गर्छन् । देख्नेहरूलाई लखेट्न सक्दैन, जो सोझा–साझा, जो हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिहरूलाई मात्रै प्राय जसो लखेट्ने काम हुन्छ ।’
धर्नामा सहभागी दृष्टिविहीन व्यवसायीहरू आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् । धर्नामा दैनिक ४० देखि ५० जना दृष्टिविहीन सहभागी हुने गरेका छन् । आन्दोलनमा मुख्यतः काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने दृष्टिविहीनहरू सहभागी छन् ।









