इजिप्टमा प्राचीन चिहान र आवासीय क्षेत्र उत्खनन

एजेन्सी । इजिप्टको इस्माइलिया प्रान्तमा पुरातात्विक उत्खननका क्रममा प्राचीन चिहान, आवासीय क्षेत्र र उत्पादन केन्द्रहरू फेला परेका छन् ।

इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले सोमवार सार्वजनिक गरेको जानकारीअनुसार यी अवशेषहरू इजिप्टको दोस्रो मध्यवर्ती काल (सन् पूर्व १६५० देखि १५५० सम्म) का हुन् ।

पूर्वी नाइल डेल्टाको टेल अल–कोउवा क्षेत्रमा गरिएको उत्खननमा १५ औँ राजवंशका १० वटा विभिन्न आकार र शैलीका चिहानहरू फेला परेका छन् । जुन माटाका इँट्टाबाट निर्माण गरिएका हुन् । साथै, सोही क्षेत्रमा ३० मिटर चौडाइ र ६० मिटर लम्बाइ भएको एउटा ठूलो आवासीय परिसर पनि फेला परेको छ ।

माटाका इँट्टाको पर्खालले घेरिएको उक्त परिसरभित्र विभिन्न कोठा, हल, ओभन र अन्न भण्डारणका लागि प्रयोग गरिने संरचनाहरू रहेका छन् ।

पुरातत्वविद्हरूले उत्खननका क्रममा स्कारब (प्राचीन इजिप्टको पवित्र मानिने मूर्ति), काँसका औजार, माटाका भाँडा, अलाबास्टरका पात्रहरू, मानव कंकाल र ठूलो मात्रामा जनावरका हड्डीहरू समेत फेला पारेका छन् ।

ती जनावरका हड्डीहरू तत्कालीन समयको दैनिक उपभोग र धार्मिक अनुष्ठानका लागि प्रयोग गरिने गरिएको मन्त्रालयले जनाएको छ ।

विशेष गरी यसपटक पहिलो पटक चिहानभन्दा बाहिर पनि मानव शवहरू गाडिएको अवस्थामा फेला परेका छन् । केही शवहरू खुम्चिएको अवस्थामा भेटिएका छन्, जुन यस क्षेत्रको परम्परागत दफन प्रक्रियाभन्दा फरक रहेकाले यसमा थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

प्रारम्भिक अध्ययनकाअनुसार यो क्षेत्र १८ औँ राजवंशको मध्यकालसम्म मानव बस्तीको रूपमा रहेको थियो । यसले इजिप्टमा हिक्सोस शासनकालदेखि नयाँ अधिराज्यसम्मको संक्रमणकालीन समयमा पनि यहाँ निरन्तर बसोबास रहेको पुष्टि गर्दछ ।

माटाका भाँडाहरूमा भेटिएका उत्पादन चिन्ह र छापहरूले यो क्षेत्र तत्कालीन समयमा एक महत्वपूर्ण व्यापारिक तथा वितरण केन्द्र रहेको संकेत गरेको छ ।

टेल अल–कोउवा क्षेत्रलाई पूर्वी नाइल डेल्टामा दोस्रो मध्यवर्ती कालको सबैभन्दा महत्वपूर्ण पुरातात्विक स्थलहरूमध्ये एक मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =