अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते

एजेन्सी । अफगानिस्तानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ । अफगान सरकारी अधिकारीहरूकाअनुसार आईतवार राति भएको उक्त आक्रमणमा अन्य १६३ जना घाइते भएका छन् ।
अफगान सरकारका सहायक प्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार पाकिस्तानसँग सीमा जोडिएका पक्तिया, पक्तिका र कुनार प्रान्तहरूमा यी आक्रमणहरू भएका हुन् ।
यस्तै, अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । यता, पाकिस्तानका संघीय सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले सीमा क्षेत्रमा सक्रिय प्रतिबन्धित समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र जमात–ल–अहरार विरुद्ध लक्षित गरी स्थल तथा हवाई कारबाही गरिएको पुष्टि गरेका छन् ।
पाकिस्तानी मन्त्री तरारकाअनुसार सो सैन्य कारबाहीमा २९ जना आतंककारी मारिएका छन् । मारिएका व्यक्तिहरू पाकिस्तानमा सर्वसाधारण र सुरक्षा निकायमाथि भएका विभिन्न हिंसात्मक तथा आतंकवादी गतिविधिमा संलग्न रहेको पाकिस्तानको दाबी छ ।









