राउन्ड १६ मा पुग्यो पारग्वे, नकआउट चरणबाटै बाहिरियो जर्मनी

काठमाडौं। फिफा विश्वकप २०२६ मा चार पटकको विश्व विजेता जर्मनी नकआउट चरणबाटै बाहिरिएको छ । अन्तिम ३२ को चरणमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।
भर्खरै सम्पन्न खेलमा जर्मनी पहिलो हाफमै १–० ले पछि परेको थियो । पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चार पटकका विश्व विजेताको प्रदर्शन निकै फितलो देखिएको थियो।
दोस्रो हाफ सुरु भएपछि जर्मनीले खेलमा फर्कने प्रयास गर्यो। ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआर समीक्षा पछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो।
निर्धारित समय र अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हाभर्ट्जले नै अवसर गुमाए।
जर्मनीले कुल तीन पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले दुई पेनाल्टी चुकाए पनि अन्ततः ४–३ ले जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।









