धानखेत जोगाउन सबै लाग्नुपर्छ, नत्र थाली रित्तिन सक्छ: सचिव मिश्र

काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै त्यसलाई जोगाउन सबै पक्ष लाग्नुपर्ने बताएका छन् ।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधि जति विकसित भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए ।

उनले प्लटिङ, जलवायु परिवर्तन र बसाइँसराइजस्ता कारणले धानखेत क्रमशः मासिँदै गएको उल्लेख गर्दै यसलाई सबैको साझा चिन्ताको विषय बनाउनुपर्ने धारणा राखे ।

‘आजको २०० वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धानखेतै चाहिन्छ । कृत्रिम चामल आउला तर खेती गर्न धानखेतको विकल्प छैन,’ उनले भने, ‘धानखेत मासिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ ।’

सचिव मिश्रले नेपाल खाद्यान्न आयातमा बढ्दो रूपमा निर्भर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भए नेपालीको खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै उनले उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

धानभन्दा बढी आम्दानी हुने नगदे बालीतर्फ किसान आकर्षित हुँदै गएकाले धानखेतीको क्षेत्र घटिरहेको उनको भनाइ थियो । मकै, उखु तथा अन्य नगदे बाली विस्तार भइरहँदा भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने उनले बताए ।

उनले धानका स्थानीय तथा रैथाने जात हराउँदै गएकोप्रति पनि चिन्ता व्यक्त गर्दै ती जात संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे ।

सचिव मिश्रका अनुसार नेपालमा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब चार टन मात्रै छ भने विकसित मुलुकमा आठदेखि १० टनसम्म उत्पादन हुने गरेको छ । नेपालले उत्पादकत्व दोब्बर बनाउन सके धान उत्पादनमा आत्मनिर्भर मात्र नभई पर्याप्त हुने उनको भनाइ थियो ।

उनले चैते धान खेती विस्तार गरेर आगामी चार–पाँच वर्षभित्र दुई लाख हेक्टर क्षेत्रफलमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए । त्यसका लागि सिँचाइ विस्तार, कृषि यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

सचिव मिश्रले यस वर्ष धानको समर्थन मूल्य समयमै निर्धारण गरिएको जानकारी दिँदै सहकारी, धान तथा चामल मिलहरूले सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =