एसपीदेखि सीडीओसम्म खेतमा, नुवाकोटमा रोपाइँ महोत्सवको रौनक (तस्बिरहरु)

नुवाकोट । देशभर आज असार १५ अर्थात् २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाइँदै छ । ‘मानो रोपेर मुरी उब्जाउने’ दिनका रूपमा परिचित असार १५ लाई नेपाली समाजमा कृषि संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।
यसै अवसरमा नुवाकोटको लिखु गाउँपालिका–६, थानसिंहमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ सम्पन्न भएको छ ।
महोत्सवमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी, सशस्त्र प्रहरी बल नुवाकोटकी डीएसपी गंगा केसी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, कृषि प्राविधिक, विद्यार्थी तथा स्थानीयवासीले धान रोप्दै हिलो खेलेर असार १५ को उल्लास साटासाट गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले परम्पराअनुसार दही–चिउराको स्वाद लिँदै नेपाली कृषि संस्कृतिको संरक्षण, धान उत्पादन वृद्धि र कृषिप्रति आकर्षण बढाउने सन्देश दिएका थिए ।
नेपाल सरकारले वि.सं. २०६१ सालदेखि असार १५ लाई आधिकारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। हरेक वर्ष यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्थानीय तह तथा विभिन्न कृषि सम्बन्धी संघ–संस्थाले औपचारिक रोपाइँ महोत्सव आयोजना गर्दै धान खेतीको महत्व र खाद्य सुरक्षाबारे जनचेतना फैलाउने गरेका छन् ।
तस्बिरहरुः–










