रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः खालिद

काठमाडौं । राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद खालिदले संघीयता नेपाली जनताको बलिदानबाट स्थापित व्यवस्था भएकाले त्यसलाई कमजोर बनाउने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन् ।
उनले संघीयता कसैको दया वा कृपाबाट नभई जनताको संघर्ष, बलिदान, जेल जीवन र आन्दोलनको उपलब्धिका रूपमा आएको उल्लेख गर्दै यसको विरुद्ध भ्रम फैलाउने काम भइरहेको दाबी गरे ।
‘संघीयता सफल भएन, खर्चिलो छ, सयौँ सांसद पाल्न गाह्रो छ, हात्ती पाल्नुजस्तो छ भन्ने भ्रम फैलाएर संघीयतालाई कमजोर बनाउने वा खारेज गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
सांसद खालिदले संघीयताको पक्षमा उभिएर जनतासँग मत मागिएको स्मरण गराउँदै प्रधानमन्त्री बालेन्द्र साहले पनि त्यसको भावना अनुरूप काम गर्नुपर्ने बताए ।
उनले संघीयतालाई थप सुदृढ बनाउँदै अझै अधिकारबाट वञ्चित समुदायसम्म राज्यको पहुँच विस्तार गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे ।
‘संघीयताको खारेजी वा प्रदेश सभाको खारेजीतर्फ होइन, संघीयतालाई कसरी बलियो बनाउने भन्ने दिशामा सरकार अघि बढ्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म अधिकार नपुगेका समुदायसम्म पनि अधिकार पुर्याउनुपर्छ ।’
सांसद खालिदले सरकारले संघीयताको पक्षमा दृढतापूर्वक काम गर्दै संविधानको मर्मअनुसार सबै नागरिकलाई अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।









