चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्प, १३ जना घाइते

एजेन्सी । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको यिबिन सहरस्थित गाओक्सियान काउन्टीमा सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार उक्त भूकम्पमा परी हालसम्म कुनै मानवीय क्षति भएको छैन, यद्यपि १३ जना सामान्य घाइते भएका छन् ।

यिबिन भूकम्प राहत कमान्ड मुख्यालयले सोमवार बिहान ३ः३० बजे दिएको जानकारीअनुसार घाइतेहरूलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको छ।

भूकम्पका कारण जोखिममा रहेका अन्य १९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । हाल प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको मुख्यालयले जनाएको छ ।

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार भूकम्प सोमवार मध्यरात १२ः१२ बजे (बेइजिङ समय) गएको थियो । भूकम्पको केन्द्रबिन्दु २८.५० डिग्री उत्तरी अक्षांश र १०४.६९ डिग्री पूर्वी देशान्तरमा जमिनको सतहबाट करिब ६ किलोमिटर गहिराइमा रहेको मापन गरिएको छ ।

भूकम्पलगत्तै चीनको भूकम्प प्रशासनले तेस्रो तहको आपतकालीन कार्ययोजना लागू गरी राहत र क्षति न्युनिकरणका प्रक्रियाहरू अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =