थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।
साल्पासिलिछो गाउँपालिका-६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयका लागि यो पुल दीर्घकालीन समाधानका रूपमा हेरिएको स्थानीय खगेन्द्र राईले बताए ।
उनका अनुसार विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत गर्न जोखिम हुने गरेको थियो । “पुल नहुँदा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या थियो । अब पुल बनेपछि सहज हुने आशा गरेका छौँ”, उनले भने ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब रु चार करोड ९४ लाख ४५ हजार ४५६ लागतमा पुल निर्माण भइरहेको छ । हालसम्म पिलरसहित विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन् ।
एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर हुने उनले जानकारी दिए ।
‘ओपन फाउन्डेसन प्रविधि’मा निर्माण भइरहेको उक्त पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यालय प्रमुख रेड्डीले विश्वास व्यक्त गरे ।
यसअघि पुल अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवतीलाई आवागमनमा समस्या हुनाका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सास्ती हुँदै आएको थियो ।
वर्षायाममा खोला तर्नै नसकिने अवस्था हुँदा दैनिक जीवन प्रभावित हुने गरेको स्थानीय डिल्लीराम बस्नेतले बताए । पुल निर्माण सम्पन्न भएपछि यहाँ उत्पादित कृषि उपजको सहज बजारीकरणसँगै व्यापार व्यवसायमा सहजता हुने उनले विश्वास व्यक्त गरे ।
विसं २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल विसं २०८४ असोजसम्म सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको छ । पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ ।









