सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

काठमाडौँ । डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले असार १३ गते सकुशल उद्धार गरेको छ ।
सोही ठाउँका स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीच भागमा फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक सुशील भट्टको कमान्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरूको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा सोही नगरपालिका–२ बस्ने ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेम बहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बाबुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदम राज भट्ट, ६० बर्सिया संजा श्रेष्ठ, ३८ वर्षीय दिपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत रहेको प्रहरीले जानकारी दिएको छ ।










