हरिवनमा कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त वृक्षरोपण

काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका वडा नं. ८ स्थित चापनी क्षेत्रमा एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय माटो र वातावरण सुहाउँदो २५० वटा आँप र २५० वटा कटहर गरी कुल ५०० वटा फलफूलका बिरुवाहरू रोपिएका छन् ।
लुम्बिनी वर्ल्ड पिस फोरमद्वारा सञ्चालित बृहत् ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
गत जुन ५ तारिखका दिन विश्व वातावरण दिवसको अवसर पारेर इलाम जिल्ला (कोशी प्रदेश) बाट सुरुवात गरिएको यस अभियानमा कुमारी बैंक लिमिटेडले सहकार्य गर्दै आएको छ ।
यस साझेदारी अन्तर्गत हालसम्म इलाम (कोशी प्रदेश), बर्दिया (लुम्बिनी प्रदेश), लमजुङ (गण्डकी प्रदेश) र आज सर्लाही (मधेस प्रदेश) गरी चारवटै जिल्लाहरूमा कुल १,८०० वटा बिरुवाहरू रोपिसकिएका छन् ।
सर्लाहीको हरिवनमा आज आयोजित यस वृक्षारोपण कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, हरिवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गाना, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ का संयोजक बासु गौतम लगायतको विशेष उपस्थिति रहेको थियो ।
यस अभियान अन्तर्गत रोपिएका बिरुवाहरूको उचित रेखदेख र संरक्षण स्थानीय समुदायको समन्वयमा गरिने र यसले पर्यावरण सन्तुलनका साथै भविष्यमा स्थानीय बासिन्दाहरूका लागि आर्थिक तथा खाद्य सुरक्षामा समेत टेवा पुर्याउने विश्वास कार्यक्रमका अतिथिहरूले व्यक्त गरेका छन् ।









