कांग्रेस नेता गुरुराज घिमिरेका पूर्व चुनावी कमाण्डर गिरी पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले विराटनगर–११, मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ ।
शनिबार (आज) बिहान उनकै घरबाट गिरीलाई पक्राउ गरिएको हो ।
प्रहरीले अवैध हतियार लुकाएको आशंकामा उनको घरमा छापा मारेको थियो । तर, घरबाट कुनै हतियार फेला नपरेपछि प्रहरीले उनलाई जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने भत्ता र सेवा–सुविधाको रकम असुलेको भन्ने गम्भीर उजुरी आएपछि गिरीलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कारागार बसेका थिए । कारागारमा रहँदा उनी लामो समय चौकीदारको जिम्मेवारीमा थिए । त्यतिबेला कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो । कारागारबाट छुटेपछि पनि उनले बाहिरबाट कारागारको व्यवस्थापनमा हस्तक्षेप गर्ने गरेको आरोप छ ।
करिब दुई वर्षअघि कैद भुक्तान गरी रिहा भएका गिरीले त्यसपछि ‘गिरी फाउन्डेशन’ स्थापना गरेर सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता गुरुराज घिमिरेको चुनावी अभियानमा समेत संलग्न थिए ।









