म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट

एजेन्सी । ३९ औं अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा म्यानमार सरकारले देशभरबाट जफत गरिएका ठूलो परिमाणको लागुऔषध र प्रतिबन्धित रसायनहरू नष्ट गरेको छ ।

शुक्रवार देशका प्रमुख सहरहरू याङ्गुन, मण्डले र ताउङ्गीमा आयोजित विशेष समारोहका बीच ती सामग्रीहरू नष्ट गरिएको हो ।

आधिकारिक तथ्याङ्कअनुसार देशभरबाट बरामद गरिएको कूल ६० करोड ३७ लाख ७० हजार अमेरिकी डलर बराबरको लागुऔषध र हानिकारक रसायनहरू जलाइएको छ । यस अन्तर्गत याङ्गुनमा ३२ करोड १३ लाख डलर बराबरका ३१ प्रकारका लागुऔषध, मण्डलेमा ११ करोड ३६ लाख डलर बराबरका २७ प्रकारका लागूऔषध र ताउङ्गीमा १६ करोड ८७ लाख डलर बराबरका ९३ प्रकारका लागूऔषध नष्ट गरिएको छ ।

नष्ट गरिएका सामग्रीहरूमा हेरोइन, अफिम, स्टिमुलान्ट ट्याब्लेट (उत्तेजक चक्की), मेथामफेटामाइन, गाँजा, केटामाइन र एक्स्टेसी लगायतका विभिन्न नशालु पदार्थहरू रहेका छन् ।

याङ्गुनमा आयोजित समारोहलाई सम्बोधन गर्दै याङ्गुन क्षेत्रका सुरक्षा तथा सीमा मामिला मन्त्री कर्नल विन टिनले लागूऔषध उन्मूलनका लागि सरकारले आफ्नो प्रयासलाई तीव्र पारेको जानकारी दिए ।

उनकाअनुसार यस वर्षको जनवरी १ देखि मे ३१ सम्मको अवधिमा मात्रै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ३ हजार २०५ जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

म्यानमारले गत वर्ष पनि सोही दिवसका अवसरमा यिनै तीन शहरहरूमा २९ करोड ७० लाख अमेरिकी डलर बराबरको लागुऔषध नष्ट गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष नष्ट गरिएको लागुऔषधको परिमाण र मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =