भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन

एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन स्पेन सरकारले ५४ सदस्यीय सैन्य आपत्कालीन टोली (यूएमई) पठाएको छ ।

स्पेनको रक्षा मन्त्रालयले बिहीबार उक्त टोलीलाई भेनेजुएला प्रस्थान गराउने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भेनेजुएलामा हालै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए ।

सो प्राकृतिक विपत्तिका कारण ठूलो परिमाणमा जनधनको क्षति हुनुका साथै दशौँ हजार मानिस अझै बेपत्ता रहेको बताइएको छ । स्पेनले पठाएको यस विशेषज्ञ टोलीमा भवन भत्किएका स्थान तथा प्राकृतिक प्रकोप क्षेत्रमा मानिसहरूको खोजी र पहिचान गर्न विशेष तालिमप्राप्त कुकुरहरू समेत सहभागी छन् ।

उद्धार टोलीसँगै स्पेनले आवश्यक उद्धार उपकरण र आपत्कालीन राहत सामग्री समेत पठाएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजसँग संवाद गर्दै विपत्को यस घडीमा स्पेन भेनेजुएलाको साथमा रहेको र पूर्ण ऐक्यवद्धता प्रकट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । यसैबीच, स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले भेनेजुएलामा रहेका ६८ स्पेनिस नागरिक अझै पनि स्पेनिस दूतावासको सम्पर्कमा नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

स्पेनका विभिन्न प्रान्तका अग्नि नियन्त्रक र अन्य उद्धार एकाइहरू पनि आगामी केही घण्टाभित्रै भेनेजुएला प्रस्थान गर्ने तयारीमा रहेको रिपोर्टहरूमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =