टर्कीको पटाका कारखानामा विष्फोटः एकको मृत्यु, एक घाइते

एजेन्सी । मध्य टर्कीको निगडे प्रान्तस्थित एक पटाका कारखानामा शुक्रवार भएको विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
निगडे गभर्नरको कार्यालयलाई उद्धृत गर्दै इहलास न्युज एजेन्सीले जनाएअनुसार बोर जिल्लाको केमेरहिसार सहरमा अवस्थित येर्तास पटाका कारखानामा स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विष्फोट भएको थियो ।
घटना लगत्तै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए । दमकलकर्मीहरूले कारखानाभित्र सल्किएको आगोलाई नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन् ।
विष्फोटमा परी घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई प्रान्तबाहिरको सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गरिएको छ ।
विष्फोटको कारणबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । यद्यपि, सम्बन्धित निकायले घटनाका सम्बन्धमा न्यायिक र प्रशासनिक दुवै तवरबाट अनुसन्धान शुरु गरेको गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।









