नेटो शिखर सम्मेलनका कारण टर्कीको राजधानी अंकाराको जनजीवन प्रभावित

एजेन्सी । टर्कीको राजधानी अंकारामा आयोजना हुन लागेको नेटो शिखर सम्मेलनको तयारीसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

सम्मेलनका कारण लगाइएका विभिन्न प्रतिबन्ध र सडक अवरोधहरूले सर्वसाधारणको दैनिक जनजीवनमा ठूलो असर पुग्ने देखिएको छ । जुलाई ७ र ८ तारिखमा आयोजना हुने यस शिखर सम्मेलनमा नेटोका ३२ सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी हुँदै छन् ।

हजारौँ प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार र सहयोगी कर्मचारीहरूको उपस्थितिका कारण यो अंकाराले आयोजना गरेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय कार्यक्रममध्ये एक हुनेछ । सम्मेलनलाई मध्यनजर गर्दै अधिकारीहरूले असाधारण सुरक्षा प्रबन्ध मिलाएका छन् ।

अर्ध–आधिकारिक समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार, सम्मेलनको सुरक्षाका लागि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । अंकारा गभर्नरको कार्यालयले जुन २८ देखि जुलाई १० सम्मका लागि शहरमा सबै प्रकारका सभा, जुलुस, धर्ना र र्‍यालीहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका साथै कन्सर्ट, मेला र ठूला सार्वजनिक जमघटहरूमा समेत रोक लगाइएको छ ।

सम्मेलन स्थल, विदेशी प्रतिनिधिहरू बस्ने होटल र मुख्य यातायात मार्गहरूमा व्यापक ट्राफिक नियन्त्रण लागू गरिएको छ । सरकारी भवन र प्रमुख होटेलहरू नजिक रहेका व्यवसायहरूले कडा सुरक्षा घेरा र सीमित पहुँचका कारण व्यावसायिक कठिनाइको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

५० लाखभन्दा बढी जनसङ्ख्या रहेको अंकारामा यी प्रतिवन्धहरू अहिले चर्चा र चासोको विषय बनेका छन् । स्थानीय बासिन्दाहरूले सुरक्षाका नाममा गरिएका यी व्यवस्थालाई ‘अत्यधिक र अनावश्यक’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कतिपयले उडानहरू रद्द भएको र आवतजावतमा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् । मध्यपूर्व प्राविधिक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूकाअनुसार यस्ता प्रतिवन्धहरूले सर्वसाधारणको हिँडडुल गर्ने स्वतन्त्रता मात्र नभई स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्‍याउन समेत अवरोध सिर्जना गरेको छ ।

विशेष गरी सार्वजनिक कार्यक्रमहरूमा लगाइएको रोक र सडक अवरोधका कारण शहर ठप्प प्रायः हुने भन्दै स्थानीयले यसलाई नागरिक अधिकारको संकुचनका रूपमा समेत हेरेका छन् । यद्यपि, सरकारले भने उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रमको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =