बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

एजेन्सी । बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ ।
यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका गतिविधिहरूका लागि आर्थिक सहयोग गर्दै आएका छन् । गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा दरबारको नवीकरण खर्चसमेत समावेश थियो ।
राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्ने गरेका थिए ।
तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उनले पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लागेका हुन् । वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग सम्बन्धित विवादपछि राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको माग बेलायतमा बढ्दै गएको छ ।
राजाका कान्छा भाइ एन्ड्र्यु सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपको अनुसन्धानमा छन् । उनलाई शाही सम्पत्तिबाट बाहिरिन बाध्य पारिएको थियो ।
दरबार निकट स्रोतहरूका अनुसार राजा चाल्र्सले राजतन्त्रप्रति जनविश्वास बढाउने तथा जवाफदेहिता सुदृढ गर्ने उद्देश्यले व्यक्तिगत रूपमा कर विवरण सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।
आधुनिक लोकतन्त्रमा राजतन्त्रको भूमिकामाथि उठिरहेका प्रश्नका बीच उनले लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र उत्तरदायी बनाउने प्रयास गरिरहेका छन् ।
राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान गरिएको छ । बेलायतका धनी व्यक्तिहरूको सूचीमा उहाँ शीर्ष २५० भित्र पर्नुहुन्छ ।
कानूनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन् ।
सन् १९९३ मा विन्डसर क्यासलमा लागेको आगलागीपछि सार्वजनिक दबाब बढेपछि रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गरेका थिए ।
राजाले सार्वजनिक गर्ने विवरण निजी आम्दानीसँग सम्बन्धित हुने जनाइएको छ । उनको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन् ।
बालमोरलमा करिब ५० हजार एकड जमिन रहेको छ भने स्यान्ड्रिङ्घममा करिब २० हजार एकड क्षेत्रफल फैलिएको छ । यी दुवै सम्पत्तिका केही भाग सर्वसाधारणका लागि खुला छन् र पर्यटन तथा कृषि गतिविधिबाट पनि आम्दानी हुने गर्दछ ।
यद्यपि सार्वभौम अनुदान तथा आधिकारिक जिम्मेवारी पूरा गर्न प्रयोग हुने आम्दानीमा राजाले कर तिर्नु पर्दैन ।
राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट प्राप्त हुने गर्दछ । करिब एक लाख ३० हजार एकड क्षेत्रफलमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा गरेको जनाएको थियो ।
राजा चाल्र्सको कर विवरण सार्वजनिक गर्ने निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रयासका रूपमा हेरिएको छ ।










