चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको बताएका हुन् ।

यसलाई राष्ट्रिय समस्याको रूपमा एमालेले चित्रण गरेको छ । उद्योगहरू बन्द हुँदा ६० हजारभन्दा बढी मजदुर बेरोजगार भएको र यसले राष्ट्रिय उत्पादन एवं निर्यातमा ठुलो धक्का पुर्याएको उनले बताए ।

उनले भने ‘चिया क्षेत्रको यो समस्या एक गम्भीर राष्ट्रिय समस्या हो। यसको दीर्घकालीन समाधानका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

प्रमुख सचेतक महरले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र कानुनी कारबाहीका सन्दर्भमा सरकारले विधि सम्मत प्रक्रिया ९ड्यू प्रोसेस अफ ल० अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले कुनैपनि राजनीतिक दलका नेता वा कार्यकर्ताले गल्ती गरेको खण्डमा कानुनी दायरामा ल्याउनुपर्ने तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने स्पष्ट पारे ।

उनले भने ‘एमालेका नेता–कार्यकर्ताले पनि कमी–कमजोरी गरेका छन् भने पक्राउ गरियोस्, तर कानुनी प्रक्रियाको पूर्ण पालना हुनुपर्छ । सरकारले आफ्नालाई काखा र अरूलाई पाखा गर्ने नीति लिनु हुँदैन । राज्य र सरकार सबैको साझा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

विगतका निर्वाचन र राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै महरले राजनीतिक प्रतिशोधको बाटो नहिँड्न सरकारलाई सचेत गराए । सरकारले सबैलाई समान व्यवहार गर्दै विधिको शासनको अगुवाइ गर्नुपर्ने एमालेको धारणा रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =