तमिल नाडुमा अमोनिया ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, ६० बढी अस्पतालमा

एजेन्सी । भारतको दक्षिणी राज्य तमिल नाडुस्थित एक समुन्द्री खाद्य (सीफुड) प्रशोधन केन्द्रमा अमोनिया ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ६७ जना अस्पताल भर्ना भएका छन् ।

आधिकारिक स्रोतकाअनुसार प्रशोधन केन्द्रबाट शुरु भएको अमोनिया ग्यासको चुहावट तिब्र रूपमा परिसरभरि फैलिएको थियो । सो समयमा उद्योगमा कार्यरत कामदारहरूले एक्कासि श्वासप्रश्वासमा कठिनाइ भएको महशुस गरेका थिए भने केहीको मुख र नाकबाट रगत समेत बगेको थियो ।

ग्यासबाट प्रभावित कामदारहरूलाई तत्काल उपचारका लागि नजिकैका निजी अस्पतालहरूमा लगिएको भएपनि उपचारका क्रममा सात जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै महिला कामदार रहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी, विपद् व्यवस्थापन टोली, दमकल, आपत्कालीन सेवा र स्वास्थ्यकर्मीहरूको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।

हाल ग्यास चुहावट नियन्त्रणका लागि अत्याधुनिक ग्यास पहिचान गर्ने यन्त्र र विशेष उद्धार उपकरणसहित ३० सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको छ । टोलीले चुहावट भएको स्थान पहिचान गरी मर्मत कार्य गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =