राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा

काठमाडौं । वागमती प्रदेशकी दिक्षा राईले काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आईतवारदेखि भएको प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौलसमूहमा दिक्षा फाइनलमा पुगेकी हुन् । सेमिफाइनलमा उनले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् । कुल तीन राउण्डको प्रतिष्पर्धामा प्रविनाले चुनौती दिने प्रयास गरे पनि सफल भइनन् । एक राउण्डमा दुई मिनेटको प्रतिष्पर्धा भएको थियो ।

दिक्षाले अब फाइनलमा गण्डकी निशा थापालाई चुनौती दिनेछिन् । पराजित भएकी प्रविना तेस्रो भइन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्पm ५७ देखि ६० केजी तौलसमूहमा लुम्बिनी प्रदेशका प्रलाद मल्ल, गण्डकी प्रदेशका विश्वास पौडेल, कोशी प्रदेशका दीपेश राई र गण्डकी प्रदेशका एवोन बास्तोलाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

दीपेशले वागमती प्रदेशका सुमितकुमार गैरेलाई र विश्वासले लुम्बिनी सम्राट केसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रल्हाद र एवोनले बाई पाएका हुन् । पुरुष ५१ देखि ५४ केजी तौलसमूहमा कोशीका सञ्जीव राई र गण्डकीका दीप्सन खत्री फाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा कोशीका सञ्जीवले वागमतीका आकृष पोडीलाई र दीपसनले वागमतीका याङ्गु तामाङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । ५४ देखि ५७ केजी तौलसमूहमा सुमिन जिसी स्वर्ण पदकका लागि स्थान बनाए । सुमिनले वागमतीका अपूर्व राईलाई हराए । ४८ देखि ५१ केजी तौलसमूहमा वागमतीका मन्दीप क्षेत्री र गण्डकीका रोहन भण्डारीले स्वर्णका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले प्रतियोगिताको उद्घाटन गरेका थिए । अध्यक्ष कक्षपतीले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले उल्लेखनीय प्रदर्शन गर्दै मुवाँथाई खेलको लोकप्रियता बढ्दै गएको बताए ।

यो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ १४ र महिलामा आठ तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष कक्षपतिले जानकारी दिए । सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछन् । कम्तीमा पाँच वटा फाइट खेलिसकेका खेलाडीले मात्र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

एक विभागीय टोली एपिएफसहित सात प्रदेशका कुल एक सय सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । १८ वर्षमाथिका खेलाडीले मात्र प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४८ केजीसमूहमा, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ७० केजी, ७२ केजी, ७६ केजी, ८२ केजी, ८६ केजी, ९१ केजी र ९१ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने भएका छन् ।

महिलामा भने ४८ केजी तौलसमूह, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी र ६६ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने संघले उल्लेख गरेको छ । हरेक तौलसमूहका विजेता खेलाडीले पदक पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =