रास्वपा महाधिवेशनमा स्वर्णिम वाग्लेले भने: ‘नयाँ राजनीतिक अध्याय लेख्दैछौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सम्बोधन गर्दै रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताएका छन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट नभई देशको निराशा र परिवर्तनको आकांक्षाबाट जन्मिएको पार्टी भएको दाबी गरे ।

उनले भने, ‘’आज हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ । हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ ।’’

वाग्लेले विगतका आन्दोलनले लोकतन्त्र ल्याए पनि त्यसको संस्थागत गुणस्तर अपेक्षित रूपमा विकास हुन नसकेको टिप्पणी गरे । उनका अनुसार निर्वाचन भए पनि उत्तरदायित्व कमजोर रहेको, संस्थाहरू बलियो नभएको र राज्यको क्षमता बढ्न नसकेको समस्या विद्यमान छ ।

उनले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको बताए ।

उनले भने, ‘’राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बनेको छ । त्यसैले हाम्रो उद्देश्य सरकार फेर्ने मात्र होइन, राजनीतिक संस्कार बदल्ने हो ।’’

वाग्लेले रास्वपा अब आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुँदै गएको उल्लेख गरे । उनले भने, ‘’हामी केवल प्रश्न सोध्न होइन, उत्तर दिन, विरोध गर्न होइन, शासन गर्न सक्षम भएको प्रमाणित गर्न चाहन्छौँ ।’’

उनका अनुसार पार्टीले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको छ ।

वाग्लेले युवाहरूले अवसर खोज्दै विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई आत्मविश्वासी र समृद्ध राष्ट्र बनाउने लक्ष्यमा पार्टी अघि बढ्ने बताए ।

उनले महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने अवसरका रूपमा व्याख्या गरे ।

सम्बोधनको अन्त्यमा उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्दै अगाडि बढ्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =