चुरे बस्तीमा बाघ आतङ्क

महोत्तरी । महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतङ्क बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो ।

गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ । गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटे बाघ भएको शुक्रबार राति पहिचान भएको छ ।

‘लगातार चार दिनदेखि बर्दिबास–३ को रातु नदीको पश्चिमतिरको पाटु डाँडामा राति बोका, बाख्रा र सुँगुर मारेको थियो, कुन जन्तु हो एकिन भएको थिएन’, बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले भने ‘शुक्रबार राति भने पहरा दिएर बसेका गाउँलेले सानो बच्चा (डमरु) सहित पाटेबाघ देखेका हुन् ।’

राँको बालेर टिन ठटाएपछि बाघ घना जङ्गलभित्र पसेको पाटुकै बासिन्दा कारेभोगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेल खत्रीले बताए ।

‘हाम्रो बस्तीमा बुधबार रातिदेखि लगातार सुँगुर, बोका र बाख्रा खोरबाटै थुतेर मारेको थियो, कहिले मार्यो चिनिएको थिएन’, खत्रीले भने ‘हिजो शुक्रबार साँझैदेखि पहरा दिएर बस्यौँ, बच्चासहितको पाटे बाघ देखियो ।’ शुक्रबार राति बाघ जङ्गल पसेपनि स्थानीय आतङ्कित भएका छन् ।

बाघले बुधबार राति पाटु डाँडाका कृष्णबहादुर मगरको सुँगुरको चार÷पाँच धार्नीको पाठो र बिहीबार राति रुपमायाँ खड्काको आठ÷नौ धार्नीको बोका र गर्भिणी बाख्रा खोरबाटै थुतेर लगेर मारेको थियो ।

यसअघि करिब १५ किलोमिटर पश्चिमको बर्दिबास–५ वरडाँडामा बाघले साताको प्रारम्भमा सो बस्तीका प्रेमबहादुर थिङ्को लैनो गाई र वृजबहादुर थिङ्को बाछो मारेको थियो । वरडाँडाका बासिन्दाले पनि मङ्गलबार राति राँको बालेर होहल्ला गरेपछि बाघ पूर्व लागेको थियो ।

बाघको आतङ्क बढेपछि बस्ती वरपर खेतबारी हिँडडुलमा पनि डर भएको पाटुकै बासिन्दा ओमबहादुर खड्का बताउछन् । अहिले चुरे काछका बासिन्दाहरु बाघ बस्ती पस्न नदिन वनसम्बन्ध अधिकारीसँग गुहार लगाइ रहेका छन् ।

यसैबीच, चुरे क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति र वनसम्बद्ध यस क्षेत्रका कार्यालयले साँझपख हिँडडुल नगर्न, बस्ती वरपर चनाखो भएर रहन र घरपालुवा पशुबस्तु खोर वा गोठमा बन्दिलो गरी सुरक्षित राख्न अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =