जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छ: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताएका छन् ।

शनिवार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसङ्गति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहेको उल्लेख गरेका हुन् ।

उनले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रस्तुत गरे । देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उनले राष्ट्रियताको मामिलामा समेत सरकारको भूमिकामाथि प्रश्न उठाए ।

भारतसँगको सीमा विवादका विषयमा देशभक्त जनता सडकमा आउनुपर्ने र राष्ट्रका पक्षमा लड्नेहरू नै वर्तमान सरकारको विकल्प बन्न सक्ने उनको दाबी थियो । पछिल्लो समय युनियनहरू खारेज गर्ने तयारी भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्दै नेता पुनले यसलाई अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक हकमाथिको प्रहारका रूपमा चित्रण गरे ।

उनले भने ‘मान्छेले के बुझे भने यो नयाँ शक्ति शासन सत्ताका विरुद्ध लड्छ, त्यसैले उसलाई भोट दिए । नेपाली जनताले सधैँ लड्ने शक्तिलाई नै विश्वास गर्दा रहेछन् भन्ने यो एउटा स्पष्ट मनोविज्ञान हो । युनियन बनाउन पाउनु संवैधानिक अधिकार हो । यदि यस्ता अधिकार खोसिँदा पनि हामी चुपचाप बस्यौँ भने जनताले हामीलाई विश्वास गर्ने छैनन् । विगतमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा खुसी मनाउनेहरूले नै पछि उनलाई सडकबाटै विस्थापित गरेको इतिहास हामीले बिर्सनु हुँदैन । हिजो हामी सशस्त्र सङ्घर्ष र जनआन्दोलनबाट लडेर आएका हौँ । अब फेरि राष्ट्रियता, लोकतन्त्र र जनताको पक्षमा उभिएर समाजवादी क्रान्तिको आधार तयार पार्न हामी प्रतिबद्ध छौँ ।’

वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले संसदलाई बेवास्ता गर्ने र बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए । सरकार गठन भएको १०० दिन नपुगेका कारण अहिले नै पूर्ण मूल्याङ्कन नगरे पनि राष्ट्रघात र जनघातका मामिलामा मौन बस्न नसकिने उनको स्पष्टोक्ति थियो । पार्टीको आगामी कार्यदिशाबारे बोल्दै नेता पुनले वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =