दमौलीस्थित नमूना पशु अस्पताल भवनको ठेक्का सम्झौता रद्द

डुम्रे । तनहुँको सदरमुकाम दमौलीस्थित नमूना पशु अस्पताल भवन तोकिएकै समयमा निर्माण पूरा नभएपछि अन्ततः ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ ।
पटकपटक निर्माण पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेकाले भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रले सात दिने सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग ठेक्का किन नतोड्ने भन्नेबारे स्पष्टीकरण मागेको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ रवीनसन अधिकारीले पटकपटकको ताकेता र म्याद थपका बाबजुद निर्माण व्यवसायीले काम पूरा गर्न चासो नदेखाएकाले कानुन बमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) को खण्ड (घ) तथा ठेक्का सम्झौताका प्रावधान बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको हो । साविक भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र इको विल्डर्स प्रालि, खैरहनी चितवनबीच विसं २०७८ साउन १२ गते भ्याटबाहेक रु चार करोड ९० लाखमा भवन निर्माण सम्झौता भएको थियो ।
सम्झौताअनुसार विसं २०७९ पुस १२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत र आर्थिक प्रगति ५४.३४ प्रतिशतमा मात्र सीमित रहेको केन्द्रले जनाएको छ । साढे दुईतले भवन निर्माण अलपत्र पर्दा एक्स–रे, शल्यक्रिया र प्रयोगशाला जस्ता सेवाका लागि आवश्यक उपकरण उपलब्ध हुँदाहुँदै पनि सेवा प्रवाह गर्न नसकिएको छ । यसबाट तनहुँ, लमजुङ, गोरखा तथा आसपासका जिल्लाका पशुपालक कृषक विशेषज्ञ सेवाबाट वञ्चित हुनुपरेको छ ।









