अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकालाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ ।

गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिका क्षेत्रमा दुईवटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’ नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ ।

वि.सं. २०७९ देखि सुरु भएको बालगृहमा पालिकाभरका बेसहारा बालबालिकाले आवासीय सेवा लिँदै आएका हुन् । गाउँपालिकाले सुरुमा रु १० लाख विनियोजन गरी बालगृह सञ्चालन गरेको थियो ।

बालगृहमा बस्ने बालबालिकालाई नजिकैको धनगौ ज्योति माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाउँदै आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । एसइई उत्तीर्णपछि उनीहरूले चाहेअनुसार कक्षा ११ र १२ पढाउने उनले बताए । अहिले बालगृहमा बस्ने बालबालिका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छन् ।

अध्यक्ष बुढामगरले भने, “कोही पनि बालबालिका बेसहारा बन्न नपरोस् भन्ने हामीले बालगृह सञ्चालन गरेका हौँ, अहिलेसम्म धेरै बालबालिकाले यहाँ आश्रय लिएका छन्, स्थानीय सरकारले बालबालिकाको मौलिक अधिकारको संरक्षण र राज्यको अनुभूति दिलाउनुपर्छ ।”

अहिले बालगृहमा १६ जना बालबालिका आश्रित छन् । जिल्लास्थित विभिन्न सङ्घसंस्थाले ‘तमानखोला बालगृह’लाई खाद्यन्न, ताताकपडा, शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । बालगृहका अध्यक्ष तथा तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले बालबालिकाले पारिवारिक वातावरणमा आश्रय लिएको बताए ।

सुरुमा बालगृहमा आएर बस्न धेरैले नमाने पनि अहिले धेरै अभिभावकविहीन बालबालिकाको रोजाइमा परेको उनको भनाइ छ । बालगृहमा बस्ने बालबालिकाको उच्च शिक्षासहित रोजगारीको ग्यारेन्टीसमेत पालिकाले गर्ने बुढामगरले बताए । बालगृह सञ्चालनका लागि ‘तमानखोला विकास कोष’ समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =