फिफा विश्वकप २०२६

विश्वकप २०२६ : समूह ‘सी’ र ‘डी’ मा नकआउट दौड थप रोचक बन्दै

विशेष गरी ब्राजिल, मोरक्को, टर्की र पाराग्वेका लागि शनिबार हुने खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको पहिलो राउन्डका खेल सम्पन्न भएसँगै समूह ‘सी’ र ‘डी’ मा नकआउट चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ । दुवै समूहका टोलीहरू नेपाली समय अनुसार शनिवार लिग चरणको दोस्रो खेलका लागि मैदान उत्रँदै छन् ।

समूह ‘सी’ मा स्कटल्यान्ड पहिलो खेलमा हैटीलाई १–० ले पराजित गर्दै तीन अङ्कसहित शीर्ष स्थानमा छ । ब्राजिल र मोरक्को बिचको खेल १–१ को बराबरीमा सकिएपछि दुवै टोलीले एक–एक अङ्क बटुलेका छन्। हैटी भने अङ्कविहीन रहेको छ ।

पहिलो खेलपछि समूह ‘सी’ को अङ्क तालिकामा स्कटल्यान्ड ३ अङ्कसहित शीर्ष स्थानमा रहँदा ब्राजिल र मोरक्को समान १–१ अङ्कका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। हैटीले भने अङ्क जोड्न सकेको छैन।

अब हुने दोस्रो चरणका लिग खेलमा स्कटल्यान्डले मोरक्कोसँग नेपाली समय अनुसार शनिवार बिहान ३:४५ बजे प्रतिस्पर्धा गर्नेछ भने ब्राजिलले बिहान ६:१५ बजे हैटीको सामना गर्नेछ। लगातार दोस्रो जित निकाल्न सके स्कटल्यान्ड नकआउट चरण नजिक पुग्नेछ भने ब्राजिल र मोरक्को जितको खोजीमा हुनेछन्।

उता समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलियाले पहिलो चरणमा विजयी सुरुआत गरेका थिए। अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको थियो भने अस्ट्रेलियाले टर्कीमाथि २–० को जित निकालेको थियो। दुवै टोलीको समान ३–३ अङ्क रहे पनि गोल अन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा छ।

समूह ‘डी’ मा आज टर्की र पाराग्वे नेपाली समय अनुसार शनिवार बिहान ८:४५ बजे आमनेसामने हुनेछन्। दुवै टोली पहिलो अङ्कको खोजीमा मैदान उत्रने भएकाले यो खेल उनीहरूका लागि निकै महत्त्वपूर्ण मानिएको छ। त्यसपछि अमेरिका र अस्ट्रेलियाबिच हुने खेल नेपाली समयअनुसार ००:४५ बजे सुरु हुनेछ। उक्त खेलको विजेता टोली नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ।

दुवै समूहमा पहिलो राउन्डपछि अङ्कको अन्तर धेरै नभएकाले दोस्रो चरणका खेलले नकआउट चरणको समीकरणलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ। विशेष गरी ब्राजिल, मोरक्को, टर्की र पाराग्वेका लागि शनिबार हुने खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =