गाजा शहरमा इजरायली हवाई आक्रमणः तीन प्यालेस्टिनीको मृत्यु

एजेन्सी । गाजा सहरको मध्य भागमा एक नागरिक सवारी साधनलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा परी तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शी र प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार बिहीवार भएको उक्त आक्रमणमा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूले दिएको जानकारीअनुसार एउटा पार्क नजिकै गुडिरहेको सवारी साधनमा इजरायली ड्रोनले कम्तीमा एउटा मिसाइल प्रहार गरेको थियो ।

प्यालेस्टिनी चिकित्सा टोलीहरूले घटनास्थलबाट शवहरू संकलन गर्नुका साथै विभिन्न मात्रामा चोट लागेका घाइतेहरूको उद्धार गरी उपचारका लागि लगेका छन् । उक्त आक्रमणको सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालहरूमा दुई जनाको शव र आठ जना घाइतेहरू ल्याइएको छ ।

सन् २०२५ अक्टोबरमा लागू भएको युद्धविराम यता मात्र प्यालेस्टिनीतर्फ मृतकको संख्या १,००७ र घाइतेको संख्या ३,१६५ पुगेको छ । सन् २०२३ अक्टोबर ७ मा द्वन्द्व सुरु भए यता कुल मृतकको संख्या ७३,०१८ र घाइतेको संख्या १७३,२७३ पुगेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२५ अक्टोबरमा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपनि इजरायलले गाजा पट्टीमा छिटफुट हवाई आक्रमणहरू जारी राखेको छ । इजरायलले लडाकुहरू र सैन्य पूर्वाधारलाई लक्षित गरी यस्ता आक्रमणहरू गरिरहेको दाबी गर्दै आएको छ ।

युद्धविरामको पहिलो चरणमा कैदी तथा बन्दीहरूको विनिमय, गाजामा मानवीय सहायताको प्रवेश र केही क्षेत्रबाट इजरायली सेनाको फिर्ती समावेश थियो ।

यसैबीच, जनवरीको मध्यतिर संयुक्त राज्य अमेरिकाले प्रस्तावित शान्ति योजनाको दोस्रो चरण शुरु भएको घोषणा गरेको थियो ।

यस चरणमा गाजा पट्टीबाट इजरायली सेनाको पूर्ण फिर्ती, हमासको निशस्त्रीकरण, पुनर्निर्माण कार्यको थालनी र गाजामा अन्तरिम शासकीय निकायको स्थापना गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =