क्षयरोगका बिरामी खोज्दै पालिका

टीकापुर । टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरू क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार सङ्कलन अभियान तीव्र पारिएको छ ।

क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार सङ्कलन र परीक्षण थालेको हो ।

असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र, असार २ र ३ गते टीकापुर–७ नयाँ बस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए ।

‘लगातार खोकी लागिरहेका मानिस क्षयरोगी हुनसक्छन, परीक्षण गर्नुपर्छ’, उनी भन्छन्, ‘सङ्क्रमित मानिसले रोग लुकाउने, तत्काल उपचारमा नजाने समस्याले समुदायमा जोखिम बढ्दै गएको छ ।’ नेपालमा क्षयरोगमुक्त पालिका बनाउन स्थानीय तह, समुदाय, स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन् ।

नेपाल सरकारले २०७८/७९ देखि सुरु गरेको ‘क्षयरोगमुक्त नेपाल अभियान’ झन्डै १५० पालिकामा विस्तार भएको छ । टीकापुरमा अहिलेसम्म १७४ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् ।

‘क्षयरोग निवारण पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सबै सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ’, शाखा प्रमुख रावलले भने, ‘हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाएका छौँ । महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउछन् ।

पालिकाले विद्यालय, सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह, टोलविकास संस्था, सहरी स्वास्थ्य केन्द्र सत्तीका अहेव गोविन्द कठायतले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताए ।

‘सत्तरी वर्षमाथिका दम तथा श्वासप्रश्वासको समस्या भएका सबैको क्षयरोग परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘यसका साथै अन्य जोखिममा रहेकाहरूको परीक्षणमा प्राथमिकता दिएका छौँ ।’

टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाइँ जोखिममा रहेका समूह र ७० वर्षमाथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताए ।

क्षयरोग भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस हुने, हल्का ज्वरो र छाती दुख्नेजस्ता समस्या देखा पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =