सांसद सृष्टी भट्टराईको स्पष्टोक्ति: ‘भिडिओ पुरानो हो, व्यक्तिगत स्वतन्त्रताको अधिकार छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टी भट्टराईले आफ्नो पुरानो भिडिओलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चा र आलोचनाप्रति स्पष्टोक्ति दिएकी छन् ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आफ्नो भिडिओ व्यापक रूपमा फैलिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले उक्त भिडिओ हालको नभई अघिल्लो समयमा व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भएको बताएकी छन् ।

‘उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो,’ उनले भनेकी छन्, ‘यो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित हो ।’

सांसद भट्टराईले भिडियोमा आफू चालक नभई यात्रुको रूपमा रहेको र केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरेको दृश्य मात्र देखाइएको स्पष्ट पारेकी छन् ।

उनले उक्त गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने तर्क गरेकी छन् ।

‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम वा सार्वजनिक दायित्वसँग सम्बन्धित थिएन,’ उनले भनेकी छन्, ‘यो मेरो निजी जीवनको सामान्य क्षण मात्र हो ।’

सांसद भट्टराईले सार्वजनिक पदमा रहे पनि व्यक्तिको निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार कायम रहने बताएकी छन् । यद्यपि, ट्राफिक नियम र सडक सुरक्षाको पालनामा सबै जिम्मेवार हुनुपर्ने उनले स्वीकार गरेकी छन् ।

उनले जीवनका विभिन्न चरणमा धेरैले उत्साह वा परिस्थितिका कारण ट्राफिक नियमसँग मेल नखाने गतिविधि गरेका हुन सक्ने उल्लेख गर्दै उक्त भिडिओलाई पनि त्यसै सन्दर्भमा बुझ्न आग्रह गरेकी छन् ।

भट्टराईले भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैन भन्दै सडक सुरक्षाप्रति सचेत रहन सबैलाई आग्रह गरेकी छन् ।

‘सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी हो,’ उनले भनेकी छन्, ‘यसलाई आलोचनाभन्दा पनि सचेतनाको अवसरका रूपमा लिन सकिन्छ भन्ने मेरो अपेक्षा छ ।’

उनले आफ्ना कार्यसम्पादन र समग्र योगदानका आधारमा मात्र मूल्याङ्कन गर्न आग्रह गर्दै आफू जनताको विश्वासप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन् ।

यस्तो छ स्पष्टीकरण

हालै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा मेरो एउटा पुरानो भिडियो व्यापक रूपमा साझा भइरहेको प्रति मेरो ध्यानाकर्षण भएको छ। उक्त भिडियोमा म सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको अवस्थामा देखिन्छु, जहाँ केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै तथा रमाइलो गरिरहेको दृश्य देखाइएको छ।
सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु।
उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो। भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुन सक्छ।
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुन्छ र म त्यसको सम्मान गर्दछु। तर सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन भन्ने विश्वास राख्दछु। म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ।
साथै, यो सन्दर्भमा एउटा महत्वपूर्ण पक्ष उल्लेख गर्न चाहन्छु। जीवनको कुनै न कुनै चरणमा अधिकांश व्यक्तिहरूले उत्साह, उमेर वा परिस्थितिका कारण यस्ता केही व्यवहार गरेका हुन सक्छन्, जुन ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्छन्। भिडियोमा देखिएको व्यवहारलाई पनि त्यसै सन्दर्भमा बुझिनु उचित हुनेछ। यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी हो भन्ने कुरामा म पूर्ण रूपमा विश्वास गर्दछु। विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्याउने छैन र सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु। यसलाई आलोचना वा विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन सकिन्छ भन्ने मेरो अपेक्षा छ।
कुनै एउटा छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा उसको कार्यसम्पादन, व्यवहार र योगदानलाई समग्र रूपमा हेर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ।
म आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध छु र जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिता, जवाफदेहिता र समर्पणका साथ आफ्नो दायित्व निर्वाह गरिरहनेछु। मप्रति विश्वास र सद्भाव राख्नुहुने सम्पूर्ण नागरिक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =